काठमाडौँ, १३ बैशाख — चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपाल भरीका सिंगल तथा मल्टिप्लेक्स गरी उपत्यका बाहिरका ५० ओटा हाँलमा ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ । काठमाडौँको विभिन्न हलमा पनि ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ ।
दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ । शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको अवस्थामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको छ ।
शुक्रबारदेखि हलिउड चलचित्र ‘एभन्जर्स’ प्रदर्शन भैरहेको छ । यो चलचित्रसँग कुनै पनि नयाँ नेपाली चलचित्र प्रतिस्पर्धा गर्न तयार भएनन् । त्यसै मौकामा चलचित्र छक्का पञ्जा २ ले पुनः चलचित्र रिलिज गराएको छ ।
नेपालमा अंग्रेजी चलचित्र नहेर्ने दर्शकहरु धेरै हुनुहुन्छ । निर्माता गिरीले भने, अंग्रेजी चलचित्र नहेर्ने दर्शकका लागि छक्का पञ्जा २ पुनः प्रदर्शन गरिएको हो ।
‘छक्का पञ्जा २’ को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ ।
‘धेरै दर्शकले चलचित्र हेर्नुभएको छैन । उहाँहरुलाई मध्यनजर गर्दै चलचित्र पुनः प्रदर्शन गर्न लागेका हौँ । निर्माता गिरीले भन्नुभो कि पुनःप्रदर्शन पश्चात विदेशमा पनि चलचित्र रिलिज गरिने तयारी भैरहेको छ ।
यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरुले युट्यूब रिलिजका लागि अनुरोध गरिरहेका छन् । तर निर्माण टिमले युट्यूब रिलिजभन्दा अघि पुनःप्रदर्शन गर्ने योजना बनाएको हो । चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय गरेका छन् ।