पर्साको ठोरी ४ मा रहेको श्री मावि विजयवस्तिले शैक्षिक सुधारका लागी अभिभावकहरुसंग अन्तरक्रिया गरेको छ।विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र उत्कृष्ट शिक्षा प्रदान गर्न लागी परेको मावि विजयवस्तिले आज कक्षा १ देखि ३ सम्मका अभिभावकहरुलाई पनि शैक्षिक स्तर वृद्धिमा जिम्मेवार बनाउन अन्तरक्रिया गरेको प्रधानाध्यापक नारायण लामाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष बहादुर श्रेष्ठ ,शिक्षक र अभिभावकहरुबीच शैक्षिक सुधारका विभिन्न पक्षमा अन्तरक्रिया भएको उनले बताए ।
अन्तरक्रियामा सहभागी अभिभावकहरुले विद्यालयमा अध्ययन गर्ने आफ्ना ससाना नानीबाबुहरुले कापीकलम हराउने ,जुत्ता साट्ने जस्ता समस्या रहेको बताउँदै आगामी दिनमा विद्यालयले त्यस्ता समस्या समाधानमा पनि ध्यान दिन आग्रह गरेका थिए ।साथै अन्तरक्रियामा सहभागी अभिभावकहरुले बालबालिकाहरुलाई घरमा समेत पढ्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।अन्तरक्रियामा विव्यस अध्यक्ष श्रेष्ठले आफुले अध्यक्षको कार्यभार सम्हालेदेखि नै विद्यालयको शिक्षाको स्तर उकास्न काम गर्दै आइरहेको बताउँदै आफ्नो अभियानमा साथ दिन सबै अभिभावकहरुसंग अपिल गरेका थिए।कार्यक्रममा प्रधानाध्यापक लामाले अभिभावकहरुले आफ्नो ठाउँबाट सहयोग गरे आफुले १ बर्ष भित्र विद्यालयलाई नमुना बनाउने प्रतिबद्धता जाहेर गरे।अन्तरक्रियामा सोही विद्यालयका शिक्षक फुर्बा लामाले ससाना बालबालिकाहरुको सिकाईको अवस्था ,तिनले विद्यालयमा देखाउने स्वभाव र अभिभावकहरुले ध्यान दिनुपर्ने पक्षका बारेमा चर्चा गरेका थिए।
अन्तरक्रियापछि विद्यालयमा उपस्थित अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने,सफासुग्घर बनाएर पठाउने ,कापीकलमको व्यवस्था गर्ने जस्ता विविध प्रतिबद्धताहरु गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेको प्रधानाध्यापक लामाले जानकारी दिए .