आशिष त्रिपाठी / विवेक कर्ण (वीरगञ्ज) – संघीयता लागु भएपछि मुलक तीन तहको सरकारद्धारा सञ्चालित छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले अहिले देशको कमान समाल्हीरहेका छन् । देशमा संघीयताको प्रवेश भएसँगै यहाँका हरेक नागरिकमा विकास नै विकासको लहर देख्न पाउने अपेक्षा छ । नागरिकले गरेका अपेक्षा मध्ये कतिपय पुरा भएका छ्न् भने कतिपय पुरा हुने क्रममा छन् । पुरा हुने क्रम यस अर्थमा कि अहिले प्रदेश र स्थानिय सरकार सञ्चालनका लागि आवश्यक ऐन कानुनको तर्जुमा नभइसकेको जनप्रतिनिधीहरुको गुनासो छ ।
प्रदेश नं २ मा विश्वविधालय स्थापना को विषय विगत लामो समयदेखि चर्चामा रहेपनि अझै विश्वविधालय स्थापना हुने पक्का भईसकेको छैन । संघीयताभन्दा अघिको केन्द्र सरकारलाई पनि यहाँका स्थानियले नझक्झकाएका पनि होईनन् । बेला बेलामा वीरगञ्जमै विश्वविधालय स्थापना गर्नुपर्छ भन्ने कुरा पनि उठेकै हो ।
प्रदेश नं २ मा विश्वविधालय स्थापनाका लागि यहाँका स्थानिय एकजुट हुनुपर्ने आवश्यक्ता छ । यहाँका विधार्थी एवम् हरेक वर्गका व्यक्तिहरुको समान सहभागिता आवश्यक छ । प्रदेश नं २ मा विश्वविधालय अपरिहार्य भईसकेको छ । उच्च शिक्षा अध्ययनका लागि हुने प्रादेशिक तथा अन्तर्राष्ट्रिय पलायनलाई निरुत्साहित गर्नका लागि पनि विश्वविधालयको आवश्यक्ता छ । हरेक वर्ष यहाँका युवा विधार्थीहरुलाई उच्च शिक्षाका अध्ययनका लागि कि त काठमाण्डौ जानुपर्छ अथवा विदेश।
प्रदेश नं २ मा नै उच्च शिक्षा अध्ययन का लागि कलेज नभएका पनि होईनन् । कलेज छन् तर यहाँका विधार्थीहरुले पढ्न चाह्ने कोर्ष छ्रैनन् । कोर्ष भएपनि त्यो कोर्ष सञ्चालनका लागि आवश्यक पुर्वाधार र जनशक्ति अभावले यहाँका विधार्थीहरु उक्त कोर्ष अध्ययन गर्न पलायन हुनैपर्छ । अध्ययनका लागि विदेश पलायन भएका युवालाई यदि विदेशमै योग्यता अनुसारको मनग्गे पैसा आउने जागिर पाईरहेको छ भने सो विधार्थी देश किन फर्किने त ? यस कारणले पनि यहाँ गरिबी र अशिक्षा व्यापक छ । प्रदेश नं २ का सबै बासिन्दा आर्थिक रुपले सबल पनि छैनन् ।
अध्ययनका लागि सबै विधार्थीहरु काठमाण्डौ अथवा विदेश नजान पनि सक्छन् र बिचमै पढाई छोड्छन् । जसरी उच्च शिक्षा अध्ययनका लागि यहाँका विधाथीहरुलाई विभिन्न बाधाहरुको सामना गर्नु परिरहेको छ, प्रदेश सरकार र केन्द्र सरकार का लागि यो लज्जाको विषय हो । प्रदेश नं २ मा पर्ने वीरगञ्ज, जसलाई नेपालको प्रमुख नाका र र्आिर्थक राजधानी भनेर पनि चिनिन्छ, यदि यहाँका युवा अध्ययनका लागि सहर-सहर भौतारिनु पर्यो भने यो गम्भीर चिन्ताको विषय हो ।
के भन्छन् त स्थानिय :
१. चन्द्र किशोर झा, तराई मामिलाका जानकार
मेरो विचारमा सार्वजनिक शिक्षालाई विधालय स्तरबाटै पोषित गर्न आवश्यक छ । केही समय अगाडी सम्म प्रदेश नं २ का जिल्लाहरु गुणस्तरीय शिक्षाको केन्द्रविन्दु हुने गथ्र्यो । यदि हामी विधालय स्तरिय पढाईलाई मजबुत नगरी विश्वविधालय स्तरमा आफ्नो ध्यान केन्द्रित गरि रहेका छौ भने शिक्षाको आधार कमजोर हुन सक्छ । ईतिहास साक्षी छ कि नेपालमा विश्वविधालय स्थापना गरिनुपर्छ भन्ने चर्चा वीरगञ्जबाटै सुरु भएको थियो । तर, पञ्चायती शासनले त्यसलाई नष्ट गर्यो । वैचारिक रुपमा वीरगञ्ज र जनकपुर, यि दुवै स्थानमा विश्वविधालयको विचार एकै समयमा प्रारम्भ भएको हो । तर, केन्द्रिय सरकारले पछि आएर अन्य र अज्ञातलाई सहयोग गर्यो । निश्चित रुपमा विश्वविधालय को आवश्यक्ता छ । तर, केही प्राथमिक प्रश्नहरु छन् । कस्तो प्रकारको विश्वविधालय ? अन्य प्रदेशमा भएका विश्वविधालय भन्दा कति फरक खालको ? प्रदेश नं २ को आवश्यक्ता के त ?विश्वविधालय स्थापना गर्न पुर्व यि प्रश्नहरु माथि गहन मन्थन आवश्यक छ । नत्र भए विश्वविधालयले रोजगारीको अवसार त सृजना गर्छ तर, वास्तविक आवश्यक्तको पुर्ति गर्न सक्तैन ।
२. डा. दिपक शाक्य, प्राध्यापक
प्रदेश नं २ मा कृषि विधालय, प्राविधिक विधालय तथा यहाँको मानव स्रोतलाई विकास गरि उत्कष्ट शिक्षामा जोड दिन आवश्यक छ । यहाँ विश्वविधालयको आवश्क्ता छ तर, विश्वविधालयको स्थापनामा यहाँका बुद्धिजिवी एवम् राजनितीक व्यक्तिवहरुको समन्वयमा स्थापना गर्नुपर्छ । राजनितीक दलले विश्वविधालयको स्थापना र विकासमा जोड दिनपर्छ तर, यसलाई राजनितीको अखाडा बनाईनु हुन्न ।
३. डा. दिपेन्द्र चौधरी, प्राध्यापक
नेपालमा त्रिभुवन विश्वविधालयभन्दा जेष्ठ एक मात्र क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पस भएपनी राज्यको विभेद तथा स्थानिय शैक्षिक माफियाका कारण यहाँ विश्वविधालयको स्थापना हुन सकेको छैन । हामीले नयाँ विश्वविधालयको स्थापनाको कुरा गरिरहँदा यस प्रदेशमा भएको विश्वविधालको संरक्षणमा कसैको ध्यान पुगेको छैन । जनकपुरमा रहेको राजर्षि जनक विश्वविधालय स्थापनाको २ वर्ष भए पनि हालसम्म पुर्ण रुपमा सञ्चालनमा आई सकेको छैन । रा.ज.वि. स्थापनाकालमा त्यस क्षेत्रमा रहेका त्रि.वि. का आङ्गीक कलेज, शैक्षिक तथा प्रशासनिक जनक्तिहरुले नयाँ विश्वविधालयसंग काम गर्ने जनाएका थिए तर हाल उक्त विश्वविधालयमा काम नगर्ने कुरा आई रहेको छ किनकि त्रि.वि. मा काम गर्दा बिभिन्न सुबिधाहरु पाइन्छ भनेर । तर हालसम्म सरकारले तपाईहरु नयाँ विश्वविधालयमा काम गर्नुस सबै सेवा त्रि.वि. जस्तो पाउछ भनेर निणर्य गर्न सकेको छैन । त्यसैले प्रदेश नं. २ को पश्चिमी क्षेत्र बिरगंजमा विश्वविधालय खुल्नु पर्छ तर ठाकुर राम बहुमुखी क्याम्पसका कर्मचारीहरुले ती समस्याहरु खडा नगरोस् भन्ने मेरो चाहना छ । पछिल्लो दिनहरुलाई केलाएर हेर्दा बिरगंजमा विश्वविधालय स्थापना नहुको मुख्य कारण यस क्षेत्रको अपरिपक्व राजनिति तथा भि.सी. को लडाई रहेको बुझिन्छ ।
४. रिता साह, अनुसन्धानकर्ता
प्रदेश नं दुई को कुल जनसंख्या ५४ लाख रहेको छ, जुन प्रदेश नं तीन पछि को सबै भन्दा बढी जनसंख्या हो । तर प्रदेश नं दुईमा यति धेरै जनसांख्कि बहुलता रहेता पनि एउटा पनि विश्वविद्यालय छैन, जबकि अन्य सबै प्रदेशमा विश्वविद्यालय रहेका छन् । देश भरिको साक्षरता दर हेर्दा प्रदेश नं दुईका जिल्लाहरू (रौतहट, महोत्तरी) मा सबै भन्दा कम साक्षर दर छ । सम्रगमा प्रदेश नं दुईको जिल्लाहरूको साक्षरता दर हेर्दा ५०% भन्दा कम रहेको छ जबकि देशको कुल साक्षरता दर ६७% रहेको छ । प्रदेश नं दुई बसोबास गर्ने दलित, महिला र मुश्लिम समुदाय शैक्षिकरूपमा पछाडि परेका छन् । यसरी पछाडि पर्नुको कारणहरू मध्ये एक कारण हो स्कुल कलेज सम्म पहुँच नहुनु, गरिबी र चेतनाको अभाव । देश संघीयतामा गईसकेको छ तसर्थ अरू प्रदेश जस्तै प्रदेश नं दुईमा पनि विश्वविद्यालय खोलिनु पर्छ ।
५. ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता
प्रदेश नम्बर २ मा विश्वविद्यालय को नितान्त आवश्यक्ता छ । प्रदेश नम्बर २ मा खासगरी बिरगंजमा विश्वविद्यालय धान्न सक्ने प्रचुर क्षमता छ । बिरगंजमा रहेको पुरानो इतिहास बोकेको ठाकुरराम बहुमुखी क्याम्पसले यहाँका करिब सबै र अन्य प्रदेशका विद्यार्थीहरुलाई समेत शिक्षा सेवा प्रदान गर्दै आएको छ । प्रदेश नम्बर २ मा पोलिटेक्नीक र कृषि बिज्ञान र प्राविधिक शिक्षा सम्बन्धि विश्वविद्यालय को त अतिआवश्यक्ता छ । करिब ६० लाख जनसंख्या रहेको यो प्रदेशमा बहु संकायको विश्वविद्यालय स्थापना बिना यो प्रदेशको शिक्षा क्षेत्रको उत्थान सम्भव छैन।यो प्रदेशमा शिक्षाको सुचांक अन्य प्रदेशहरुको तुलनामा न्युन रहेकोले पनि सरकारले शिक्षा क्षेत्रमा विशेष लगानी गर्न सक्नु पर्छ । विश्वविद्यालय स्थापना पछि यहाँका जनताहरु सरल एवं सुलभ रुपमा उच्च शिक्षा एवं एकेडमीक शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्छ । यो प्रदेशमा विश्वविद्यालय स्थापना भयो भने प्रदेश सरकारले बनाउने माटो सुहाउँदो शिक्षा निति कार्यान्वयन गर्न पनि सजिलो हुने छ । स्थानीय भाषा , पहिचान सहित ब्यवहारिक र ब्यवसायिक शिक्षाले बिद्यार्थीहरु लाभान्वित हुन सक्छन् । प्रदेश नम्बर २ को जनसंख्यालाई मध्य नजर गर्दै यहाँ कम्तीमा पनि दुईटा विश्वविद्यालय स्थापना हुनु पर्छ।
६.कञ्चन झा, सामाजिक अभियन्ता
प्रदेश २ मा विश्व विद्यालयको आवश्यकता छ । यसको आफ्नै इतिहास छ । प्रदेश २ को आफ्नै मौलिकता, समावेशिता, भाषा, संस्कृती र पहिचान छ । यी विषयहरुको प्रतिबिम्ब भनेको शिक्षा मार्फत गर्न सकिन्छ । हामीले हाम्रो मौलिकता संरक्षणसँगै त्यसको विकास र विश्वब्यापीकरणका लागि विश्व विद्यालय आवश्यक छ । यद्यपी यति भनिरहँदा शैक्षिक माफियाहरुले खोल्ने नाफा मूलक नीजि कलेजहरुलाई सम्बन्धन दिनकै लागि विश्व विद्यालयको आवश्यकता देख्ने ठुलो समुह हाम्रै प्रदेशमा सक्रिय छ । त्यो कदापी हुनुहुदैन । विश्व विद्यालयमा राखिने शैक्षिक विषयहरुमा यहाँको धर्म–संस्कृती, पंरम्परा, भेषभुषा र भाषा तथा साहित्य अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । प्रदेश २ मा शिक्षाको अवस्था कस्तो छ , त्यो हामी सबैलाई थाहा छ । तर प्राविधीक क्षेत्रमा यही प्रदेशका युवायुवतीको बर्चस्व बर्षोदेखि रहँदै आएको छ । यहाँ बुझ्नै पर्ने अर्को विषय भनेको मेधावी बिद्यार्थी तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट बञ्चित छन ्। यस्तै भारततर्फ शिक्षाका लागि समेत हाम्रो निर्भरता बढदै गएको छ । यी समग्र विषयको शुक्ष्म अध्ययनले समेत यस प्रदेशका लागि यहाँको मौलिकता बोकेको वैज्ञानिक शिक्षा प्रणाली भएको भुगोल सुहाँउदो विश्व बिद्यालय स्थापनामा बिलम्ब हुनुहुदैन्।
७. तबरेज अहमद, युवा नेता
देशको कुल जनसंख्याको ५१ प्रतिशत भाग ओगटेको प्रदेश नं २ मा विश्वविधालय अतिआवश्यक भईसकेको छ । उच्च शिक्षा अध्ययनका लागि यहाँ संख्यात्मक तथा गुणात्मक हिसाबले निकै कम छ । आर्थिक अवस्था सबल भएका पारिवारिक घरानाका विधार्थीहरु मात्र अन्य प्रदेश अथवा विदेश गएर पढ्न सक्छन् । विशेषतः प्रदेश नं २ मा प्लस टु पछिको अध्ययनका लागि आवश्यक शैक्षिक संस्था नहुँदा यहाँका चेलीहरु शिक्षाबाट वञ्चित भईरहेका छन् । अभिभावकहरुले आफना चेलीहरुलाई अध्ययनका लागि बाहिर पठाउँदा असुरक्षित महशुस गर्छन् । र, समृद्ध समाजका लागि छोरी चेलीहरु शिक्षीत हुनैपर्छ । आफ्नै प्रदेशमा विश्वविधालय भईदिएको भए सबैमा गुणस्तरीय शिक्षाको पहुँच हुनेथियो । विधार्थीहरु आफ्नो रोजाईको कोर्ष पढ्न पाउँथे । मेरो विचारमा जति सहज शिक्षा त्यति सरल समृद्धि । तसर्थ, प्रदेश नं २ मा विश्वविधालय चाँडै स्थापना गरिनुपर्छ ।
८. अरविन्द सिंह, युवा नेता
विश्वविद्यालय शिक्षा क्षेत्रको समृद्धिको आधार हो । तमाम खाले विकृति र विसङगतिको विरुद्धमा वैचारिक र बौद्धिक बहस चलाउने र त्यो बहसलाई तार्किक निष्कर्षमा पुर्याउने केन्द्रको रुपमा विश्वविद्यालयलाई लिने गरिन्छ। प्रदेश (२ मा अहिलेसम्म एउटा पनि विश्वविद्यालय छैन । जनकपुरमा प्रस्तावित महर्षी र राजर्षी जनक विश्वविद्यालयले संचालन अनुमति पाएको छ भन्ने सुनिएको छ। अर्को केन्द्र बिरगंजमा समेत विरगन्ज विश्वविद्यालयको नाममा केही कामहरु भएका छन् । हाम्रो प्रदेशको शिक्षाको स्तर झन् झन् खस्किएको छ। परिक्षा प्रणाली पुरै ध्वस्त छ । हरेक विद्यार्थी चिट चोरेर सजिलै डिग्री हासिल गर्न सकिन्छ भनेर लाग्या छन् । एउटा विद्यार्थी ३ र४ वटा विषयमा मास्टर्स गरेको देखिन्छ । थेसिस समेत कपि पेस्ट गर्ने कल्चरमा हामी सिरियसली अगाडि बढेका छौं । यस्तो भयावह अवस्थामा एउटा विश्वविद्यालय कसरी संचालन हुन्छ र त्यसले कस्तो खाले सन्देश दिन्छ ? अहिलेको ठुलो चुनौती यहि हो । बिरगंजमा एक पटक हुने परिक्षामा सहभागी हुने ५००० भन्दा बढी परिक्षार्थी अट्ने एउटा परिक्षा भवन समेत नभएको हाम्रो ठाँउमा परिक्षाको लागि सबै कलेजहरुको पठन पाठन समेत स्थगित गर्नु पर्ने वाध्यता छ ।
९. कमलनाथ त्रिपाठी, पुर्व सरकारी अधिकारी
मधेशमा विश्वविधालयको आवश्यक्ता दशकौ पहिला देखी छ । पहिला यहाँका अधिकांश युवतीहरु शिक्षाबाट वञ्चीत हुने गर्थे । किनभने आफनै सहरमा गुणस्तरीय शिक्षा प्रवाह गर्ने शैक्षिक संस्था थिएनन् । र, अभिभावकले आफनी छोरीहरुलाई विभिन्न कारणले अध्ययनका निम्ति बाहिर पठाउँथेनन् । अहिले अभिभावहरुको दृष्टिकोणमा आएको बदलावले युवतीहरु पनि अध्ययनका लागि बाहिर जान थालेका छन् । अब त विधार्थीहरुको संख्यामा यति वृद्धि भएको छ कि यहाँ कलेज र कोर्षको अभाव सृजना भएको छ ।
१०.आशु सर्राफ, स्वतन्त्र पत्रकार
यहाँ विधालयस्तरिय पढाईमा निजी शिक्षण संस्थाका कारण आधुनिक्ता आएको छ । तर, उच्च शिक्षाको क्षेत्रमा विकासकोे झल्को पनि देखिएको छैन् । कक्षा १२ पछि न त विधार्थीहरु लाई कलेजमै ठाउँ पाईन्छ न त राम्रो कोर्ष नै उपलब्ध हुन्छ । यो अवस्थामा विधार्थीहरुको भविष्य अन्धकार हुन्छ ।
११. विश्वास रंजन द्धिवेदी, युवा नेता
यहाँ विश्वविधालय बनाउन आवश्यक भइसकेको छ । आखिर कहिलेसम्म यहाँका विधार्थी अन्य प्रदेश तथा विदेश गएर अध्ययन गर्ने त ? विधार्थीहरुको असुविधालाई निरुत्साहित गर्न सरकारले यहाँ शिघ्र विश्वविधालय स्थापना गर्नुपर्छ ।
१२. राहुल साह, स्थानिय
सहरमा कलेजहरुको संख्या बढाउनुपर्ने माग पहिला देखि नै उठ्दै आईरहेको छ । यहाँका विधार्थीहरुमा अहिले चेतनाको सञ्चार छ । यहाँका विधार्थीहरु नयाँ नयाँ कोर्ष अध्ययन गर्न चाहन्छन् । तसर्थ, यहाँ विश्वविधालय निर्माणमा सरकारको ध्यान जानु आवश्यक छ ।
…..
प्रदेश नं २ मा विश्वविधालय नभएको होइन । प्रादेशिक राजधानी जनकपुरमा राजर्षि जनक विश्वविधालय छ । जहाँ हाल २०० को हाराहारीमा विधार्थी अध्ययनरत् छन् । पुर्वाधार, जनशक्ति तथा कोर्षहरुको अभावमा राजर्षि जनक विश्वविधालय दुरुस्त रुपमा सञ्चालन नभएको अवस्था छ । करिब ५४ लाख जनसंख्या रहेको यो प्रदेशमा विविध कोर्षहरु एकै ठाँउमा अध्ययन गर्न पाइने विश्वविधालयको आवश्यक्तालाई यो लेखले औैल्याएको हो ।
क्रमशः