काठमाडौं । अमेरिकी समाचार संस्था सिएनएनले विश्वकै अग्लो शिखर सगरमाथाबारे भ्रमपूर्ण समाचार लेखेको छ। ‘रहस्यमय सगरमाथाका कतिपय कथाहरु कल्पनाले भरिएका छन्’, शीर्षकमा छापिएको समाचारमा भनिएको छ, ‘हामीलाई २९ हजार ३५ फिट उचाइको सगरमाथा संसारकै सर्वोच्च शिखर हो भनेर पढाइएको छ।
तर विश्वको सर्वोच्च शिखर प्यासिफिक ओसनको मध्यमा रहेको मउना की हो, जुन समुन्द्रको सतहबाट १३ हजार ७ सय ९६ फिट अग्लो छ। सतहबाट नभई समुन्द्रको पिँधबाट नाप्ने हो भने यो झण्डै ३३ हजार ५ सय फिट अग्लो छ।’ सिएनएन समाचारमा सगरमाथा विश्वको अग्लो शिखर नभएको जिकिरसहित विश्वका अन्य दुई पहाडको चर्चा पनि गरको छ।
‘पृथ्वीको केन्द्रबाट नाप्ने हो भने पनि सगरमाथा सर्वोच्च होइन। यो गौरव इक्वेडरको चिम्बोराजोले बोकेको छ। चिम्बोराजोको शिखर समुन्द्री सतहबाट २० हजार ५ सय ६४ फिट अग्लो छ’, सिएनएन अगाडि लेख्छ, ‘इक्वेडरको भूभागमा पृथ्वी थोरै बाक्लो भएकाले (पृथ्वीको निरन्तरको परिक्रमाका कारण पैदा हुने बलले यस्तो हुने गर्छ) मात्रै हो, अन्यथा चिम्बोराजोको टुप्पो पृथ्वीको केन्द्रबाट सगरमाथाको तुलनामा थप ६ हजार ८ सय फिटको दुरीमा छ।’
यसका साथै सिएनएनले सन् १९२२ मा पहिलो आरोहीले ज्यान गुमाएयता सगरमाथामा २०० आरोहीको मृत्यु भइसकेको जिकिर गरेको छ। सगरमाथा आरोहणको सफलता दर केवल २९ प्रतिशत रहेको पनि उसले दाबी गरेको छ। ‘यति हुँदाहुँदै पनि प्रतिवर्ष सयौंले आरोहणको अनुमति पाउँछन्, जसबाट जनही ११ हजार अमेरिकी डलर असुलिन्छ,’ समाचारमा भनिएको छ।
नेपाल सरकारले आरोहणपूर्व आरोहीले गर्नुपर्ने ‘अभ्यासको निश्चित घण्टा’ नतोकेको भन्दै समाचारमा केही ट्रेकिङ एजेन्सीलाई सहजीकरणको जिम्मा दिइएको जनाएको छ। ‘तिनले आरोहीसँग हजारौं डलर असुल्छन्’, सिएनएन आरोपित गर्ने शैलीमा लेख्छ’, ‘तिनको दर पनि हेरीहेरी छ।’
सगरमाथामा पुग्नुलाई प्रकृतिसँग एकाकार हुने अवसरको रुपमा लिइने गरिएको कुरालाई पनि सिएनएनले काल्पनिक भनेको छ। ‘कुनै समयमा त्यस्तो हुन्थ्यो होला’, समाचारमा लेखिएको छ, ‘बढ्दो भिडभाडका कारण अब त्यस्तो छैन। दुई साताअघि गरिएको सरसफाइका क्रममा सगरमाथा क्षेत्रबाट ६ जार ६ सय १३ पाउण्ड फोहर निकालियो। जसमा खाली क्यान, बोतल र प्लाष्टिकहरु थिए।’ पर्यटन विभाग भन्छ : अफवाह फैल्याइयो यता पर्यटन विभागले भने सगरामाथाबारे विश्वका सञ्चारमाध्यमले पटक पटक अफवाह फैल्याएको जनाएको छ। पर्यटन विभागकी निर्देशक मिरा आचार्यले सगरमाथामा आरोहीको धेरै चापका कारण मृत्यु भएको कुराको खण्डन गरिन्। उनले प्रसिद्ध आरोही कामीरिता शेर्पासहितले सगरमाथामा मानिसको चापका कारण मृत्यु बढेको कुराको खण्डन गरिसकेको पनि बताइन् ।
‘सगरमाथा विश्वको सर्वोच्च शिखर हो। यसमा कुनै विवादै छैन’, उनले भनिन्, ‘पटक पटक यसलाई विवादित बनाउने काम भएको छ। पछिल्लो पटक सगरमाथामा चाप रहेको कुरा गलत हो। चापका कारण मृत्यु भएको भन्नेहरुले त्यसको पुष्टि गर्न सक्नुपर्छ। होइन भने अफवाह फैल्याउने शैलीमा कसैले पनि समाचार लेख्नु गलत हो।’