बीरगंज, १९ जेठ — नेपालको राजनीतिक इतिहासै ठूलो हत्या काण्डका रुपमा परिचित तत्कालीन राजपरिवारको नरसंहार गरिएको आज १८ वर्ष पुगेको छ ।
राजा वीरेन्द्र शाहको परिवारका १० सदस्यको हत्या १९ जेठ २०५८ मा भयो, जसलाई ’दरबार हत्याकाण्ड’का नामले समेत चिनिन्छ ।
नेपालको आधुनिक इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगयतको हत्या भएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
आफ्ना दाजुको परिवारको नरसंहार भएपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले उक्त हत्या काण्डको छानविबन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए । नेता नेपालले भने पछि समिति नरहने भन्दै नाम फिर्ता लिएका थिए ।
एक हप्तापछि समितिले राजालाई प्रतिवेदन पेस गरेको थियो, जसले बजारमा चलेका विभिन्न हल्ला तथा अडकलबाजीलाई थप बल पुर्याउने काम गर्यो । देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले आफूहरुको बिहेलाई राजपरिवारले स्वीकार नगरेकाले यस्तो हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा भनिएको छ ।
छानबिन प्रतिवेदनमा लागूपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन।




