काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । तर, भोलि केन्द्रीय कमिटी सदस्यको कार्यविभाज टुंग्याउने गरि बैठक बोलाइएको छ ।
मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ गरे पनि पूर्णता नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘एकीकरणाका बाँकी कामको छलफल प्रारम्भ भएको छ, पूर्णता पाइसकेको छैन’ श्रेष्ठले भने, ‘भोलि १२ बजे फेरि बैठक बसेर टुंग्याउँछौं ।’
बैठकमा ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल भए पनि सहमतिमा नपुगिएको नेताहरुले बताएका छन् ।
सांगठनिक एकीकरणका बाँकी काम बुधबार समय भए छलफल गर्ने नभए अर्काे दिन बस्ने सचिवालय बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले एकताका बाँकी काम अब छिट्टै अघि बढ्ने पनि बताए ।
पछिल्लो समय नेताहरुको आ-आफ्नै दाबीका कारण नेकपाले एकताका बाँकी काम टुंग्याउन सकेको छैन ।




