काभ्रे । धुलिखेलमा निजी जग्गा भनेर झुक्याउँदै पिच सडक नै बिक्री गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धुलिखेल नगरपालिका–७, बखुण्डोलका मिना भैल, लोकेन्द्र तोलाङ्गे र उनकी श्रीमती सोनु तोलाङ्गेलाई झुक्याएर पिच सडक नै बिक्री गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
साविक धुलिखेल नगरपालिका–३ को कित्ता नम्बर ६५२ नम्बरको ३ आना जग्गा काठमाडौं विश्वविद्यालय जाने बाटो मुनि भनी देखाएर पिच सडक बिक्री गरेको आरोप उनीहरुमाथि छ ।
जग्गा भनिएको उक्त सडक उनीहरुले २२ लाखमा बिक्री गरेका थिए । मालपोतको रेकर्डमा निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटरबाटो भएको प्रमाणित गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीका अनुसार उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । जग्गा खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रविण बाटीको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको बताएको छ ।
२०७६ बैशाख १५ गते प्रहरीलाई दिएको जाहेरीमा नक्कली टे«स नक्सा बनाइ अरुको जग्गा देखाइ विश्वास दिलाएर पिच सडक बिक्री गरेको उल्लेख छ । उक्त सिफारिसका आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलाङ्गे मिजारले सोही जग्गा खरिद गरेका थिए ।
पुरानै सिफारिसका आधारमा दोश्रो पटक ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलाङ्गे मिजारले २०७३ बैशाख ७ गते ६ लाख ५० हजार मुल्य राखी भक्तपुर १७ घर भएकी मिना भैललाई बेचेका थिए ।
सोही सिफारिसका आधारमा मिना भैलले २०७५ साल असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रविण बाटीले १२ लाख मुल्याकंन राखी २२ लाखमा खरिद गरेका हुन् । मालपोत कार्यालयमा ४८ हजार राजश्व बुझाउँदै ५ हजार रुपैयाँ लिखत मार्फत खर्च गरेका थिए ।
स्थानीयको सँगै मालपोत र नापी कार्यालय पनि उक्त घटनामा दोषी रहेको स्थानीयको गुनासो छ । सडक बेच्ने कार्यमा मालपोत र नापीको संलग्नता रहने हुनाले उनीहरुलाई पनि दण्डित गरिनुवर्ने स्थानीय बताउँछन् ।




