काठमाडौं —सरकारले बिहीबार दिउँसो वृद्धि गरेको सार्वजनिक यातायातको भाडा साँझ फिर्ता लिएको छ।
इन्धन, मर्मत तथा सञ्चालन खर्चअनुसार भाडा समायोजन गर्न यातायात व्यवसायीले दबाब दिएपछि बिहीबार भाडा बढाएको सरकारले तत्काल फिर्ता लिएको हो। असार १ गतेदेखि लागू हुनेगरी बिहीबार दिउँसो सार्वजनिक यातायात तथा मालबहाकमा २० प्रतिशत र ट्याक्सीमा १२ प्रतिशत भाडा बढाउने निर्णय सरकारले गरेको थियो।
यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार भाडा वृद्धि भएपछि सरकारमाथि पर्ने दबाबलाई मध्यनजर गर्दै साँझ निर्णय फिर्ता भएको हो। दिउँसोमात्र सूचना अधिकारी खनालले विभागले मेकानिकल पार्टस् सवारीसाधन, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धि, करलगायतलाई आधारमानि भाडा वृद्धि गरिएको जानकारी दिएका थिए।
भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिका, यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी, सुरक्षा निकायकसँग छलफल गरेको थियो। छोटो दूरीको भाडा न्यूनतम १७ रुपैयाँ र ट्याक्सीमा न्यूनतम ५० रुपैयाँ कायम भएको थियो। २५ किलोमिटरसम्मको दूरीलाई स्थानीय सडक (छोटोदूरी) मानिन्छ।




