हेटौंडा, २ असार — मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २१ यात्रु घाइते भएका छन् ।
ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराकाे सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे हाे । दुर्घटनामा गम्भीर घाइते १ जनाको ज्यान गए पनि पहिचान खुलेको छैन ।
दुर्घटनामा २१ जना घाइते भएको मकवानपुरका एसपी मुकेश सिंहले जानकारी दिनुभयाे । बसमा ३० यात्रु सवार रहेकाे बताइएकाे छ ।
एसपी सिंहका अनुसार सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ ।
तिब्र गति र मोडका कारण बस दुर्घटनामा परेको हुनसक्ने एसपी सिंहले बताउनुभयाे ।




