spot_img

पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न

spot_img
spot_img

बीरगंज, २ असार — भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज सम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ ।  नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

दक्षिण एशियाको पहिलो क्रसबोर्डरका रुपमा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भई हाइड्रो टेष्ट, पाइप बेल्डिङ गरेर जोडिएका पाइपको रेडियोग्राफी, पाइप जोडिएको बिन्दुमा एक्स–रे, स्क्यान प्लाष्ट गरेर पाइपमा रहेका खिया हटाएर चिल्लो स्टील बनाउने कार्य शुरु भएको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनःवृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० वटा नयाँ रुख रोपन रु एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

सो पाइपलाइन सञ्चालन गर्नका लागि नेपाल आयल निगमका इञ्जिनीयर तथा प्राविधिक टोली पाइपलाइन सञ्चालन गर्नेबारे तालीम लिन भारतको लखनउतर्फ गएको बताइएको छ ।

भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल निगमको २७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रु २०० करोड तथा सङ्घीय सरकारको रु ७५ करोड लगानी रहेको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय