असार १०,
पर्साको ठोरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन फारम भरेका १५ देखि ५९ बर्षका युवाहरूले यही असारको दोस्रो सातादेखि रोजगारी पाउने भएका छन् ।गाउँपालिकाले सन्चालन गर्ने वृक्षरोपण तथा कुलोपैनी सरसफाई लगायतका आयोजनामा फारम भरेका बेरोजगारहरु मध्य वडाले सिफारिस गरेको आधारमा रोजगारी दिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत संगम न्यौपानेले जानकारी दिए।
संघीय सरकारले गत फागुन १ गतेदेखि लागू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन ठोरीमा १ हजार ३ सय ८५ जनाले रोजगारीका लागी फारम भरेको अधिकृत न्यौपानेले बताए ।जसमध्ये ६ सय ८७ जना पुरुष र ६ सय ९८ जना महिला रहेका छन् ।गाउँपालिकाको सबै वडाको सार्वजनिक स्थल ,मन्दिर सडक किनार लगायतका ठाउँमा वृक्षरोपण गर्न ८० प्रतिशत भन्दा बढी रोजगार कोषको रकम छुट्याइएकोले वृक्षरोपणमा नै ८० प्रतिशत भन्दा बढिले रोजगारी प्राप्त गर्ने उनले जानकारी दिए ।त्यस्तै गापाको वडा २ मा रहेको पानीको पैनी ,कुलो लगायत सरसफाइको योजनामा समेत करीब २० प्रतिशत जतिले रोजगारी पाउनेछन् ।
संघीय सरकारले चालू आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी रु २० लाख सशर्त अनुदानको रुपमा ठोरी गापामा बजेट पठाएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी कामदारले प्रत्येक दिन रु ५ सय ४० ज्याला पाउने गापाको बोर्ड बैंककले निर्णय गरेको समेत अधिकृत न्यौपानेले जानकारी दिए ।उनले संघीय सरकारले पठाएको रकम र ज्यालाको दरका आधारमामा कामदार संख्या तोकिने र कामदार प्रत्येक वडाले सिफारिस गरेको आधारमा छ्नोट गरिने भएकाले यसबर्ष रोजगारीका लागी फाराम भरेका सबैले रोजगारी पाउन नसक्ने प्रष्ट पारे । उनले असार मसान्तसम्म आयोजनाको काम नसक्याए रकम नै फ्रिज हुने भएकाले असारको दोस्रो सातादेखि काम सुरु गर्न लागिएको बताए ।अहिले आयोजनाको लागत इस्टिमेटको काम भैरहेको समेत अधिकृत न्यौपानेले जानकारी दिए।
आन्तरिक रोजगारी सिर्जना गरी १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारीको सुनिश्चित गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आज फागुन १ देखि कार्यान्वयनमा ल्याएको हो। न्यूनतम रोजगारी नपाउने बेरोजगार युवालाई वर्षमा २२ हजार ४ सय १७ रुपैयाँ निर्वाह भत्ता दिइने समेत सरकारले घोषणा गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ७ सय ५३ वटै स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमार्फत बेरोजगार युवालाई रोजगार उपलब्ध गराइनेछ ।




