काठमाडौं । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ ।
उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको हो ।
लोकसेवाको विज्ञापनसम्बन्धी एउटा रीटमा संसदीय समितिलाई विपक्षी बनाइएकाले अन्तरिम आदेशको छलफलका लागि समितिका प्रतिनिधि पनि उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।
लोकसेवा आयोगको विज्ञापन रोक्न र करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन कानून विपरीत भन्दै अधिवक्ता राजाराम घिमिरेले राज्य व्यवस्था समितिलाई विपक्षी बनाई रीट दायर गरेका थिए । सर्वोच्चले लोकसेवाको विज्ञापनसम्बन्धी परेका ४ वटै रीटलाई एउटै संयुक्त इजलासमा राखेर सुनुवाई गरिरहेको छ ।
बुधबार अन्तरिम आदेशका लागि सुनुवाई हुने भनिए पनि राज्य व्यवस्था समितिलाई सूचना नपुगेकाले सूचना दिनू भन्ने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ । लोकसेवासम्बन्धी विवाद न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भइरहेको छ ।
अब यो विषयमा आइतबार सुनुवाई हुनेछ ।




