असार ११,
ठोरी गाउँपालिकाको वडा २ मा आगामी आर्थिक बर्षका लागी वडा भित्र सन्चालन गरिने विकासनिर्माणका कामको छनोट गर्न र योजना तर्जुमा गर्न वडा भेला सम्पन्न भएको छ।वडाध्यक्ष किशोर तामाङको अध्यक्षतामा आज सम्पन्न भेलाले आगामी आर्थिक बर्ष २०७६/७७ मा वडा भित्र सन्चालन गरिने विकास निर्माणका काममा प्राथमिकताका आधारमा बजेट तर्जुमा गर्न सुझाव संकलन गरेको छ।
वडा २ को कार्यालयमा भएको भेलामा सहभागीहरुले वडाले आगामी आर्थिक बर्षमा योजना तर्जुमा गर्दा प्राथमिकता कायम गर्नुपर्ने सुझाव दिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
“वडाका विभिन्न टोलहरुबाट झन्डै २ करोड जतिको योजनाका लागी बजेट माग भएको छ,प्राथमिकता हेरेर बजेट विनियोजन हुन्छ “उनले भने ,”गाउँपालिकाको बोर्ड बैठकले वडालाई ६० लाख सम्मको योजना तर्जुमा गर्न सिलिङ तोकेको छ,अलिकति तलमाथि हुन्छ ,सकेसम्म सबै क्षेत्रलाई समेट्छौ”।
उनले बोर्ड बैठकको सिलिङ भित्र रहेर कृषि र सिचाइलाई प्राथमिकतामा राखेर योजना तर्जुमा हुने बताए ।शिक्षा ,स्वास्थ्य ,सडक ,कल्भर्ट निर्माण लगायतका क्षेत्रमा समेत योजना छनोट हुने वडाध्यक्ष तामाङले प्रष्ट पारे ।
“आज सबै पक्षको विचार र सुझाव संकलन भयो,भोलि वडाका सबै प्रतिनिधिहरु बसेर प्राथमिकताका आधारमा योजनाहरुको अन्तिम छनोट गरेर गाउँ सभामा लगिनेछ”उनले भने ।
वडा भेलामा वडा सदस्यहरु अमृतकृष्ण सापकोटा ,श्यामहरी शर्मा लगायत वडाका अन्य जनप्रतिनिधिहरु ,स्थानीय अगुवा ,महिला ,संघसस्थाका प्रतिनिधिहरुको सहभागीता थियो।




