बीरगंज, १६ असार — इलाका प्रहरी कार्यालय सिमराले विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख भन्दा बढी रकम ठगी गर्ने एक प्रधानध्यापकलाई पक्राउ गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई प्रहरीले ६१ लाख १४ हजार पाँच सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
ठाकुर रौतहट माधवनारायण नगरपालिका वडा न. ६ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा न. ३२ विद्यानगरटोलमा बस्दै आएका थिए । आफू प्रधानध्यापक रहेको विद्यालयमा शिक्षकको जागिर लगाइदिने भन्दै ठाकुरले २० जना व्यक्तिबाट प्रतिव्यक्ति दुई लाख देखि पाँच लाख सम्म ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराइले जानकारी दिनुभयो ।
ठाकुरलाई ठगी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराइले बताउनुभयो ।




