१८ असार — भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । विश्वकपअन्तर्गत मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि साविक विजेता अस्ट्रेलियाले मात्र सेमिफाइनलमा स्थान बनाएको थियो । भारतले आठ खेलबाट १३ अंक जोडेको छ । विश्वकपमा अझै सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्न बाँकी छ ।
भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि सकिब अल हसन र मोहम्मद सैफुद्दिनले अर्धशतकीय पाली खेले । सकिबले ७४ बलमा ६ चौकाको मद्दतमा ६६ र सैफुद्दिनले ३८ बलमा ५१ रन बनाए । यसैगरी सब्बिर रहमानले ३६, सौम्य सरकारले ३३, मुस्फिकुर रहिमले २४, तमिम इक्वाल र लिटन दासले समान २२ रन बनाए ।
भारतका जसप्रीत बुमराहले चार विकेट लिए । यसैगरी हार्दिक पाण्ड्याले तीन तथा मोहमद सामी, भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले एक/एक विकेट हात पारे ।
यसअघि एजबास्टनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १४ रनको योगफल खडा गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलले एक सय ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे पनि अन्य ब्याट्सम्यान चल्न नसक्दा भारतले विशाल योगफल खडा गर्न भने सकेन । भारतका रोहितले शतक र लोकेशले अर्धशतक बनाए । रोहितले ९२ बलमा पाँच छक्का र सात चौकाको मद्दतमा एक सय चार रन बनाए । जारी विश्वकपमा रोहितको चौथो शतक हो ।
उनले यसअघि तीन शतक बनाइसकेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध १२२, पाकिस्तानविरुद्ध १४० र इङ्ल्यान्डविरुद्ध १०२ रन बनाएका थिए ।
यसैगरी लोकेशले पनि ९२ बलमा एक छक्का र ६ चौकाबाट ७७ रन बनाए । रिषभ पन्तले ४८, महेन्द्रसिंह धोनीले ३५ र कप्तान विराट कोहलीले २६ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले पाँच विकेट लिए । यसैगरी सकिब अल हसन, रुबेल हुसेन र सौम्य सरकारले एक/एक विकेट हात पारे ।




