असार २१
पर्साको ठोरी गाउँपालिकामा निर्माणाधीन हुलाकी सडकको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सहिको जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले अनुगमन गरेको छ।साबिक ठोरीमा हुलाकी सडक निर्माणको बिषयमा स्थानीय दुई कित्तामा बिभाजित भएपछि स्थगन भएको सडक निर्माणको अवस्था र बर्षातमा आउन सक्ने बाढी लगायतका बिषयमा बुझ्न् प्रजिअ सहितको टोलि ठोरी आइपुगेको हो।
बिरगंज ठोरी सडक खण्डको साबिक ठोरी गाविसमा पर्ने सडक खण्डमा हुलाकी सडक निर्माणको काम तत्काल सुरु गर्नुपर्ने भन्दै गत आइतबारमात्र ठोरीका स्थानीयको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको ध्यानाकर्षण गरेको थियो। साबिक ठोरीको खहरे खोलामा हुलाकी सडक निर्माण ठेकेदारले सिएनजी मात्र गरेर काम स्थगन गरेकाले सडककै मार्ग भएर खहरे खोलाबाट वस्तीमा बाढी पस्ने जोखिम रहेको भन्दै तत्काल ठेकेदारलाई निर्माणको काम गराउन पहल गरिदिन अनुरोध गर्दै स्थानीय नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए।
स्थानीयले बाढीको जोखिम औल्याएपछी जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ भट्टराईले सडकको स्थलगत अवलोकन गरी स्थानीयसंग साक्षात्कार समेत गरेको टोलीमा सहभागी जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले बताए ।सडकको अवलोकन पश्चात प्रजिअ भट्टराईले हुलाकी सडकको डिपिआरको बिषय हुलाकी सडक निर्देशनालयले हेर्ने भएकालेे डिपिआरको बारेमा अहिले नै केहि भन्न नसकिने बताएको उपसभापति न्यौपानेले बताए ।तर हुलाकी सडकको काम सुचारु गराउन र खहरे खोलामा काम थाल्न चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेद प्रसाद ढकालसंग समन्वय गरिने पनि प्रजिअ भट्टराईले बताएको उनले जनाए।साथै प्रजिअ भट्टराईले हुलाकी सडकको निर्माण प्रगतिको अवस्थाका बारेमा समेत चासो व्यक्त गरेका थिए ।उनले हुलाकी सडक अवलोकनका क्रममा सडक निर्माणको ठेक्का पाएको बानियाँ निर्माण सेवाका प्रतिनिधि उद्दव न्यौपानेसंग सडक निर्माणको अवस्थाका बारेमा जिज्ञासा राखेको ठेकेदार प्रतिनिधि न्यौपानेले बताए ।जवाफमा न्यौपानेले गाउँपालिकामा काम थालेको २२ किमि सडक खण्डमा करीब ३५ प्रतिशत काम सकिएको बताएका थिए ।
जिल्लाका उच्च अधिकारीहरु सम्मीलित टोलिलाई स्थानीयका
तर्फबाट वडा १ का वडाध्यक्ष राम प्रकाश कुवर,वडा २ का वडाध्यक्ष किशोर तामाङ ,सदस्य अमृतकृष्ण सापकोटा ,वडा ३ का वडाध्यक्ष सुर्य बहादुर लामा लगायतका स्थानीय जनप्रतिनिधिहरुले हुलाकी सडक निर्माणको काम तत्काल थाल्नुपर्ने बताउँदै ठोरीका जनताले भोग्नुपरेका विभिन्न समस्याहरु पनि सुनाएका थिए ।टोलिमा प्रजिअ भट्टराई ,जिसस उपसभापति ठाकुर प्रसाद न्यौपाने ,नेपाल प्रहरीका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर,सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ,राष्ट्रिय अनुसन्धानका पर्सा प्रमुख लगायतको सहभागीता थियो।
साबिक ठोरीमा हुलाकी सडकको डिपिआरको विषयलाई स्थानीय दुई कित्तामा बिभाजन हुँदा सडक निर्माणको काम नै प्रभावित भएको छ।हाल वडा २ का स्थानीयले अहिलेकै डिपिआर र योजना अनुसार सडक निर्माण हुनुपर्ने माग गरेका छन् भने भगवाननगरका स्थानीयले भने सडक मार्ग परिवर्तन हुनुपर्ने माग गरिरहेका छन् ।यसरी स्थानीय नै दुई कित्तामा बाडिएपछी तत्काल केहि समय काम स्थगन गर्न भारतीय पक्ष र सरकारकै प्रतिनिधिबाट समेत अनुरोध भैआएकोले काम केहि दिनका लागि रोकिएको ठेकेदार कम्पनी बानियाँ निर्माण सेवाका इन्चार्ज उद्दव न्यौपानेले बताए ।




