बीरगंज, २३ असार — प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई गृहनगरमै सर्वसाधारणले लखेटेको खुलासा भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित हनुमान मन्दिरका पूजारी राममनोहर दासलाई गत बुधबार इँटाले हान्न खोजिएपछि मन्त्री साहलाई स्थानीयवासीले लखेटेको बताइएको छ।
प्रदेश २ सरकारको १० लाख रुपैयाँको लगानीमा सुरु भएको मन्दिरको छत ढलान र जिर्णोद्वाराको काममा कमसल सामग्री प्रयोग भएको गुनासो आएपछि मन्त्री साह र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साह (मन्त्रीका छोरा) अनुगमनका लागि मन्दिरमा पुगेका थिए।
पूजारी दासले काम गुणस्तरहीन भएको र बालुवा पनि कमसल प्रयोग गरेकाले काम रोक्न माग गरेका थिए। आफ्नै मान्छे उपभोक्ता समितिमा राखेर काम गराइरहेका मन्त्री साहले काम रोक्ने कुरा सुन्नासाथ पूजारीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको र इँटा उठाएर हान्न खोजेको स्थानीय सन्जिव यादवले बताए।
मन्त्रीले नै पूजारीलाई इँटाले हान्न खोजेको जानकारीपछि भेला भएका स्थानीय युवाहरुले मन्त्रीलाई लखेटेको अर्का स्थानीय राहुल मण्डल बताउँछन्।
हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले भने मन्दिरको काम गुणस्तरहीन भएको र उपभोक्ता समितिमा नराखेको विषयमा कुरा उठाएपछि पूजारीसँग मन्त्री शाहको सामान्य विवाद भएको जिकिर गरे।




