जनकपुरधाम, असार ३० गते— लगातारको बर्षापछि आएको बाढीका कारण प्रदेश २ को कतिपय जिल्लामा संचार सम्पर्क र विजुली लगातार ठप्प भएको अवस्था छ । रौतहट सदरमुकाम गौरमा दुई दिन यता विजुली छैन् । संचार सम्पर्क पूर्णतया ठीक हुन सकेको छैन् ।
सर्लाही जिल्लाको अवस्था पनि यस्तै छ । धेरै ठाउँमा अहिले पनि संचार सम्पर्क अवरुद्व रहेको छ । कतिपय ठाउँमा लामो समयदेखि विद्युत अवरुद्व रहेको छ । रौतहटको प्रायः सबै स्थानीय तहमा बाढी पसेको छ । धेरै गाउँ अहिले पनि जलमग्न बनेको छ । बाढीका कारण यहाँका ७० हजार व्यक्ति प्रभावित भएका छन् । सदरमुकाम गौरसहित बिभिन्न स्थानीय तहका ७० हजार व्यक्ति बाढीबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
गौरस्थित विद्युतको शव स्टेशनमा पानी पसेर समस्या ल्याएपछि दुई दिनदेखि गौरमा विद्युत नभएको प्रमुख जिल्ला अधिकारी थापाले सुनाए । उनले भने, “खानेपानीको समस्या जेनरेटर चलाएर समाधान गरिएको छ ।” बाढीका कारण सर्लाहीका १६ सय १ परिवार विस्थापित भएका छन् । बाढीमा परेर यी परिवारहरुको घर भत्किएपछि सुरक्षित ठाउँमा लगेर राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।
धेरै ठाउँमा जमेको पानी हालसम्म यथावतै रहेको छ । धेरै ठाउँका संचार सम्पर्क अहिलेसम्म विच्छेद रहेको र जिल्लाको पश्चिमी क्षेत्रका बाटोहरु अवरुद्व रहेको उनले बताए । पानी थामिएपछि सर्लाही प्रशासन र स्थानीय तह पीडितहरुको तथ्यांक संकलन गर्न लागिपरेका छन् । प्रमुख जिल्ला अधिकारी राउतले वडा अध्यक्षहरुको नेतृत्वमा बाढीको लेखाजोखा थालिएको बताए । उनले भत्काइएका नदीहरुको बाँध निर्माणका लागि सिंचाई डिभिजन कार्यालयसँग कुरा भइरहेको सुनाए ।




