जनकपुर, ३१ असार — उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी तथा पहिरोले भत्काएको घर सरकारले बनाउने बताएका छन्। मंगलवार जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले बाढीले दिएको पीडाप्रति सरकार गम्भिर रहेको बताए।
उनले भने, ‘विपद्ले घर भत्काएमा सरकारले बनाउने एक पटक निर्णय गरिसकेको छ। त्यसैले फेरी निर्णय गर्नु परेन।’ मन्त्री यादवले अहिले तत्कालै हरेक दल र सरकार मिलेर पीडितहरु समक्ष राहत पुर्याउन जरुरी देखिएको बताए। सिरहामा पहुँचवालाले मात्र राहत पाएको गुनासो सुनिएकोले त्यस्तो हुन नदिन सबै पक्षसँग उनले आग्रह समेत गरे।
उनले सरकारको राहतले मात्र नपुग्दै भन्दै संघसंस्थाहरुलाई समेत राहत बाँड्न अपिल गरे। बाढी आएलगत्तै आफ्नो निर्वाचन क्षेत्र धनुषा आइपुगेका मन्त्री यादव विभिन्न बाँध, बाढी र पीडितहरुको घर घरमा पुगेर निरीक्षण गरेका छन्।




