काठमाडौं— सडक डिभिजन काठमाडौं मिनभवनले पप्पु कन्स्ट्रक्सनलाई टेकु पुलमा गलत ढंगले निर्माण भएका संरचना भत्काई ७ दिनभित्र मापदण्ड अनुसार निर्माण गर्न निर्देशन दिएको छ।
जेआईइसी/पप्पु जेभीद्वारा निर्माणाधिन टेकुस्थित विष्णुमती पुलमा इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का स्पेसिफिकेशनको अन्यथा हुने गरि पुलको सुपर स्ट्रक्चर निर्माण गरिएको भन्दै त्यसलाई सात दिनभित्र सुधार्न निर्देशन दिएको हो।
पटक पटक सुचना जारी गर्दा पनि अटेर गरेर मापदण्ड विपरित काम गरिएपछि तोकेको मापदण्ड अनुसार निर्माण कार्य नगरे ठेक्का तोडेर नियमानुसार कारबाही हुने कार्यालयले जनाएको छ।
करिव ६२ मिटर लामो पुल तत्कालिन दिगो शहरी यातायात आयोजनाबाट निर्माण गरिएको हो। तत्कालिन आयोजना प्रमुख अनन्त आचार्यका अनुसार यो पुलको फाउण्डेसनमा समस्या नभएपनि सुपर स्ट्रक्चरमा समस्या रहेको छ।
पुलमा प्रयोग गरिएको डण्डी र तार (केवल) मापदण्डभन्दा सानो र गुणस्तरहिन छन्। मापदण्डभन्दा कमको गरिएपछि तत्कालै रोक्न लिखित निर्देशन दिएको थियो।
पप्पुले रातारात आयोजनाको प्राविधिक (इन्जिनियर) नै नराखी ढलान गरेको थियो। त्यसपछि आयोजनाले महानगरीय प्रहरीलाई पत्राचार गर्दै पुल संचालनमा रोक लगाउन भनेको थियो। अहिले पुलको मध्यभागमा तारको जाली लगाएर संचालनमा रोक लगाईएको छ।
एसियाली विकास बैकको करिव २० करोड १३ लाख रुपैयाँ ऋण सहयोगमा यो पुल निर्माण गरिएको हो। २०७४ मा सक्ने गरि २०७१ मा ठेक्का सम्झौता गरिएको थियो। करिव एक बर्ष बढी समय लगाएर पप्पुले पुल निर्माण गरेको भएपनि गुणस्तरहीन भन्दै विभागले लिएको छैन। पुलमा लोड टेष्ट गर्ने क्रममा केही स्थानमा क्षति पुगेको भन्दै मापदण्ड पुरा गरेर सात दिनभित्र निर्माण गर्न भनिएको छ।




