
जनकपुरधाम, १७ असोज । मौनता तोडौ मुल नाराका साथ असोज शुक्रवारदेखि डिसेम्बर १० तारिखसम्म बलात्कार र लैङ्गिक हिंसाविरुद्ध ओरेक नेपालले राष्ट्रिय अभियानको सुरुवात गरेको छ।
सामाजिक र न्याय क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुको सहयोगमा ओरेक नेपाल धनुषाले जनकपुरको जनकचोकमा पत्रकार सम्मेलनको आयोजना गरि अभियानबारे जानकारी दिएका हुन्।
ओरेक नेपाल धनुषाका संयोजक रोजलिन सिंह बछारले शुक्रवारदेखि नै अभियान तहत जनकचौकमा विभिन्न प्लेकार्डलिई प्रदर्शनसहित १ घण्टा धर्ना दिएको बताउनुभएको छ । अभियानको क्रममा विभिन्न पालिकाहरुमा धर्ना, अन्तरक्रिया, मुख्यमंन्त्री तथा जनप्रतिनिधीहरु लगायत सरोकारवाला निकायसंग छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।
पत्रकार सम्मेलनमा ओरेक नेपालले देशभरबाट संकलन गरेको घटनाअनुसार २०७७ बैशाखदेखि भदौमसान्तसम्म् ३१९ जना बलात्कारका घटना भएको छ । ३१९ बलात्कारको घटनामा ७५ प्रतिशत पिडितको उमेर २ वर्षदेखि १८ वर्ष मुनिको रहेको तथ्यांक सार्वजानिक गरेको छ ।बलात्कार घटनामा करिव ९० प्रतिशत घटना परिचित र चिनजानकै व्यक्तिबाट भएको समेत तथ्यांक सार्वजानिक गरेको हो । महिला र किशोरीहरुको लागि घर तथा समुदाय दुवै सुरक्षित नभएको घटनाको तथ्यांक र पिडितहरुको अनुभवले प्रष्ट गरेको ओरेकले दावि गरेको छ ।
ओरेक नेपालले हजारौ बलात्कार पिडित महिला तथा किशोरीहरु बलात्कृत हुने तथ्यांक राज्यबाट समेत सार्वजानिक भई रहँदा समेत राज्यको जिम्मेवार निकाय तथा उच्चपदस्थ व्यक्तिले समेत बलात्कारलाई संवेदनशील मुदाको रुवमा नहेर्ने गरेकाले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताए । पिडितहरुको न्यायमा पहुँच हुन नसकेकाले राज्य पक्ष गम्भिर हुनुपर्नेमा ओरेक नेपालले माग गरेको छ ।
ओरेक नेपालले समाजमा विद्यमान कानुनी संरचनादेखि सामाजिक र मानसिक विभेदको अन्त्य नभएसम्म बलात्कार तथा महिला र बालबालिकाहरुमाथि हुदै आएको घटना न्युनिकरण हुन नसक्ने ठहर गर्दै विभिन्न मागसहित ६ बुन्दे ध्यानाकर्षणसहितको माग प्रस्तुत गरेको ओरेक नेपाल धनुषा संयोजक रोजलिन सिंह बछारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।




