बारा, १५ मंसिर – कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।
सो गाँउपालिकाको वडा नं. २ मा रहेको करैयामाई मन्दिर मंसिर १४ र १५ गते लाग्ने मेला भर्न र पुजापाठका लागि सो गाउँपालिका अन्र्तगतका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरुमा दुई दिने सार्वजनिक बिदा दिइएको छ । सामान्य मेलाका लागि गाउँपालिकाले दुई दिने बिदा दिनुलाई स्थानीय बुद्धिजीविले असामान्य रुपमा लिएका छन् ।


स्थानीय स्तरमा लाग्ने सानो तिनो मेलाका लागि भनेर सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरु बन्द गरिनु उचित नभएको स्थानीयको भनाई छ । राष्ट्रिय स्तर र प्रदेश स्तरका विभिन्न पर्व र मेलाका लागि संघीय र प्रदेश सरकारले बिदा दिने गरेकोमा यसरी स्थानीय तहले मनपरी रुपमा बिदा घोषणा गर्नु मनोपोलीको एउटा कुसंस्कार भएको सोही गाउँका एक शिक्षकले बताए ।