जनकपुरधाम, मंसिर २६ । धनुषाको धनौजी गाउँपालिकामा एक वडाध्यक्षले आफ्नो छोरालाई जागिर नदिएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

धनौजी गाउँपालिका ३ का वडाध्यक्ष रामदुलार मण्डलले आफ्नो छोरालाई गाउँपालिकामा जागिर नदिएको आक्रोशमा पालिका प्रमुखको कार्यकक्षमा नै ताला लगाइदिएका हुन्। तालाबन्दी बारे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीसिँह, उपाध्यक्ष रामवति देवी मण्डल र प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले सयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष मण्डलले आफ्नो छोरालाई जसरी पनि जागिर दिन दबाब दिएको तथा नमानेपछि गाउँपालिकामा तालाबन्दी गरेको आरोप लगाइएको छ।
ताला लगाएपछि नियमित काम कारवाही प्रभावित भएको छ। सेवाग्राही मर्कामा परेका छन्। वडाध्यक्ष मण्डलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राविधिक सहायक पदमा निकालिएको विज्ञापन अनुसार छोरालाई जसरी पनि जागिर हुनुपर्ने अडान राखेको विज्ञप्तिमा उल्लेख छ।
सोही वडामा रहेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षाको दरबन्दी रिक्त नहुँदा हुँदै शिक्षक सरुवाको सहमति प्रदान गरिदिनसमेत वडा अध्यक्षले कार्यालय प्रमुखलगायत कर्मचारीहरुलाई विगत एक महिनादेखि दिँदै आएको बताइएको छ।

यता, वडा ३ का वडाध्यक्ष मण्डलका अनुसार गाउँपालिकाद्वारा जारी विज्ञप्तीमा छोरालाई जागिर नदिएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको आरोप झुठो रहेको दाबी गरेका छन्।
गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंह र उपाध्यक्ष रामवती मण्डल र प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्रले बदमासी गरिरहेको उनको जिकीर छ।
वडाध्यक्षले मण्डलले भने , ‘अधिकृत मिश्र र गाउँपालिका अध्यक्ष सिंह कार्यालयमा एक दिन आउँछ, १० दिन आउँदैन त्यसैले हामीले गाउँपालिकाको कार्यालयमा ताला लगाएका हौं।’‘वडाध्यक्षको सहमति विना नै जथाभावी विज्ञापन निकाली कानूनलाई धज्जी उडाएर पेलेर चल्छ’, उनले थपे।
प्रमुख प्रशासकीय अधिकृत मिश्रले गाउँपालिकामा अन्याय गरिरहेको वडाध्यक्ष मण्डलको भनाइ छ। उनले गाउँपालिका समक्ष कर्मचारीलाई समयमै तलब खुवाउने, वृद्ध भत्ता समयमै दिन लगायतका मागहरु राखेका छन्।




