बीरगन्ज, २७ पुष – जनता समाजवादी पार्टीका नेता सुन्दर प्रसाद कुर्मी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । तत्कालिन नेकपा एमाले परित्याग गरी तत्कालिन फोरम नेपाल प्रवेश गरेका कुर्मी अहिले आएर फेरि नेकपामा प्रवेश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा सोमबार कुर्मी प्रवेश गरेका छन् ।
ओली समुहको नेकपाले सोमबार बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा आयोजना गरेको शक्ति प्रदर्शनमा क्रममा आयोजित कार्यक्रमका बीच कुर्मीले नेकपा पार्टी प्रवेश गरेका हुन् ।


शक्ति प्रदर्शनका प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले उनलाई फुलमाला लगाएर पार्टी प्रवेश गराएका छन् । पार्टीले संगठन निर्माण र निर्वाचनमा गरेको योगदानलाई उचित मुल्यांकन नगरेको भन्दै कुर्मीले जसपा परित्याग गरेको बताएका छन् ।
स्थानीय निर्वाचनभन्दा केहि दिन अगाडी तत्कालिन एमालेसँग असन्तुष्टि जनाउँदै उनले तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल प्रवेश गरेका थिए । त्यसबेला पार्टीको जिल्ला उपाध्यक्षको जिम्मेवारी पाएका कुर्मीलाई राजपासँगको पार्टी एकीकरण पछि कुनै पद दिइएको थिएन ।
स्थानीय र संसदीय निर्वाचनमा सङ्घीय समाजवादी फोरमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेपनि पार्टी सो योगदानको मुल्याकंन नगरेको कुर्मीले बताए ।
बारा जिल्लाका नेता बलबिर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लिला श्रेष्ठ, पार्टीका नेता रघुवीर महासेठ, केन्द्रीय सदस्य राजकुमार गुप्ता, सुमन प्याखुरेल, पर्सा अध्यक्ष प्रभु हजरा लगायतले मन्तव्य राखेका थिए ।