बीरगन्ज, २९ पुष – बर्ड फ्लु बढेपछि पर्सा जिल्लामा सतकर्ता बढाईएको छ । नेपालमा बर्ड फ्लु भित्रिन नदिन सीमा नाकामा कडाई गर्न शुरु गरिएको छ । भारतका १० भन्दा बढी राज्यमा बर्ड फ्लु देखा परेपछि जिल्लाका सिमावर्ती क्षेत्रहरुमा कडाई गरिनुको साथै अनुगमनलाई तिव्रता दिइएको छ ।
बर्ड फ्लु भित्रिन नदिन भारतबाट आउने पन्छी र पन्छीजन्य सबै वस्तु नेपाल ल्याउनमा निषेध गरिएको छ । पन्छी र पन्छी जन्य वस्तु मासु, अण्डा आयात निर्यातमा रोक लगाइएको र यसको अनुगमनको लागि पशु, भेटनरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले गस्ती तथा अनुगमन गर्ने व्यवस्था मिलाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । यस्तै, बर्ड फ्लुका बारेमा सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेर सचेतना फैलाउने निर्णय पनि सरोकारवालाको बैठकले गरेको उनले जानकारी दिए ।


बर्ड फ्लु नियन्त्रण आदेश २०६४ अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने बर्ड फ्लु नियन्त्रण प्राविधिक समितिको गत पुस २६ गते आईतबार बसेको बैठकले बर्ड फ्लु नियन्त्रण सम्बन्धमा विभिन्न निर्णयहरु गरिसेको प्रजिअ तामाङले बताए ।
बीरगन्जस्थित पशु क्वारेन्टिन कार्यालयले पर्सा, बारा र रौतहट गरी तीन वटै जिल्ला हेर्ने गर्छ । कार्यालय अन्तर्गत बीरगन्जको सिर्सिया, बाराको मटिअर्वा र रौतहटको अरैयामा चेक पोष्ट र बाराको पथलैयामा आन्तरिक चेक पोष्ट छ । सबै चेकपोष्टहरुलाई सतर्क रहन निर्देशन दिइसकेको कार्यालयले जनाएको छ ।
यता, पर्सा जिल्लामा यतिबेला कुखुरा, कुखुराको मासु र अन्डाको दाम बढेसँगै व्यापारीहरूले भारतीय बजारबाट आयात कुखुरा र अन्डाको आयाता बढेको छ । यसलाई नै मध्यनजर गर्दै बर्ड फ्लुको बढ्न सक्ने जोखिम कम गर्न भारतबाट आयात हुने कुखुरा र अन्डामा पूर्ण रूपमा रोक लगाइएको पशु क्वारेन्टाइन कार्यालय पर्साले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालयका अनुसार सेतो अन्डा भटिने बितिक्कै नस्ट गर्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको छ ।
पशुपन्छीको वैध तथा अवैध ओसारपसार रोक्न पशु क्वारेन्टाइन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रतिनिधि सम्मिलिन संयुक्त अनुगमन टोली बनाइएको छ । सो टोलीले बुधबार सीमावर्ती बजारको अनुगमन गरेको छ । अनुगमनको क्रममा छिपहरमाई गाउँपालिकाको भिस्वा बाजार र जगरनाथपुर गाउँपालिकाको जानकी टोला बजारमा भारतीय अन्डा छ्याप्छ्याप्ती रुपमा बिक्री वितरण हुँदै आएको पाइएकोले सो कार्यलाई बन्देज लगाइएको पशु क्वारेन्टाइन कार्यालय पर्सा प्रमुख डा. हरेराम यादवले बताए ।
यसैगरी बुधबार नै पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा. यादवको नेतृत्वमा निस्किएको टोलीले सीमावर्ति बजार भैवा, सबैठवा, भिस्वा, दशैता, जानकी टोलामा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा टोलीले ३५ क्रेट अन्डा, केही कुखुरा नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको अन्डा र कुखुरालाई सशस्त्र प्रहरी बल भिखमपुरमा नष्ट गरेको थियो ।
यस्तै, प्रहरी कार्यालय पोखरियाले दिनहुँ भारतबाट अवैध रुपमा ल्याइएको कुखुरा नियन्त्रणमा लिएर नष्ट गरिरहेको छ । जानकीटोला हुँदै ल्याउँदै गरेको २८ वटा र हिजो झौवाबाट बरामद गरिएको २५ वटा कुखुरा नष्ट गरिएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
भारतबाट बर्ड फ्लू नेपाल भित्रिन नदिन उच्च सतर्कताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्ड फ्लु संक्रमण भित्रिन नदिन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहीबारबाट आयात हुने पशुपन्छी तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सीमा नाकाबाट आयात हुने पशुपन्छी तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।