काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको जवाफ पत्र पठाएका छन्। बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई बुझाएको पत्रमा नेकपा विभाजन नभएको बताएका बताएका छन् ।
निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै समूहलाई पत्रचार गरेकोमा प्रधानमन्त्री ओलीले जवाफ दिँदै नेकपा विभाजन नभएको र आफू पहिलो अध्यक्ष भएको दावी गरेका हुन्। उनले पहिलो अध्यक्षको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखीकरण हुने र अन्य कोही कसैले पठाएको सामग्री अभिलेखीकरण नगर्नसमेत आयोगलाई आग्रह गरेका छन्।


उनले पुष्पकमल दाहाल नेकपाको दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताउँदै प्रचण्ड–नेपाल समूहले आफूलाई कारबाही गरी माधवकुमार नेपाललाई अध्यक्ष बनाएको भनि विवरण पेश गर्नुको कुनै औचित्य नभएको बताएका छन्।
‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु। द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ। यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ’, ओलीले आयोगमा पठाएको पत्रमा भनिएको छ।