काठमाडौं, १८ फागुन । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।
यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्नेछन् । निर्देशक पौडेलले शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने बताउनुभयो । सोअनुसार आगामी शैक्षिक सत्रमा पनि विद्यार्थीले तोकिएको पाठ्यक्रम पूरा अध्ययन गर्न नपाउने भएका छन् । पाठ्यक्रमलाई तोकिएको ढाँचामा घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । शैक्षिक सत्रलाई चैतभित्र पूरा गर्दा केही बिदालाई समेत मिलाउने सरकारी योजना छ ।
अर्को शैक्षिक सत्र वैशाखबाटै
आगामी २०७८ सालको चैतमा शैक्षिक सत्र पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु गर्ने र चैतमा पूरा गरिने भएको छ । कोरोनाका कारण बिग्रेको नेपालको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ । २०७९ सालको शैक्षिक सत्र १२ महिनामा पूरा हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।