जनकपुरधाम, २० फागुन । जनकपुरको विवाह मण्डपको पछाडिमा जानकी मन्दिकै जग्गामा संचालित रामजानकी हस्पिटलले पुनः एक बिरामीको ज्यान लिएको छ । पैसा कमाउने चक्करमा सिकिस्त बिरामीलाई बाहिर रेफर नगरी यहि ठीक हुन्छ भन्दै हस्पिटलमै ज्यान लिएको हो ।
हस्पिटलको लापरवाहीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० गोपालपुरका २४ वर्षीय युवक सुदिप दास तत्माको ज्यान गएको हो । बुधबार राति मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएका सुदीपलाई एक एम्बुलेन्स चालकले रामजानकी हस्पिटलमा पुर्याएको थियो ।
टाउको र शरीरमा गम्भीर चोट लागेका उनलाई हस्पिटलले यहिँ ठीक हुन्छ भन्दै परिवारजनलाई बाहिर लग्न दिएन । बिहीबार बिहान सुदीपको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएको परिवारजनलाई जानकारी गराए लफडा हुने डरले हस्पिटलले ढाट्दै बिहीबार बिहान ९ बजे यहाँ उपचार सम्भव नभएकाले रेफर गरेर अन्य हस्पिटलमा पठाइदिएको मृतकका दाई विकरु दासले दुखेसो पोखे ।
’राति बिरामीको अवस्था ठीक छ, उपचारको लागि अन्यत्र कतै बाहिर लग्नु पर्दैन भन्यो । हामी पटक–पटक हेर्न खोज्दा हेर्न दिएन’ दाई विकरुले भने ‘बिहान हेर्नु भन्यो । तर बिहानै मरिसकेको भाइलाई अवस्था गम्भीर छ । यहा उपचार हुदैन । बाहिर उपचारको लागि लग्नु भनेर रेफर गरिदियो । अर्को हस्पिटलमा पुग्दा डाक्रले मृत्यु भइसकको छ भन्यो ।’
अस्पतालले पैसा लुट्ने चक्करमा लापरवाही गरी छोराको ज्यान लिएको बुबा हरिवंश दासले गुनासो गरे । ‘घाइते छोरालाई निर्दयी हस्पिटलले एकपटक हेर्न समेत दिएन । नत उपचारको लागि बाहिर लग्न दियो । मृत्यु भएपछि अस्पतालबाट निकालिदियो’ बुबा हरिबंशले दुखेसो पोख्दै भने ‘हस्पिटलबाला लुटेरा हुन् । पैसा कमाउन मेरो छोराको जीवनसंग खेलबाड गर्यो ।’
उनले छोराको ज्यान लिने रामजानकी हस्पिटललाई कारबाही हुनुपर्ने माग गरे ।