काठमाडौँ,२५ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा सकारात्मक परिवर्तनको अभाव रहेको टिप्पणी गरेका हुन्। निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए।
उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन। यसलाई विरासतमा पाएको भन्ने गरिएता पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नुपर्दछ। त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ।’
कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए। शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए।