बीरगन्ज, २५ चैत । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बीरगन्जमा ढलान सडक र नाला निर्माणको शिलान्यास गरेका छन् ।
बीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाही टोलस्थित शिवनारायण यादवको घर हुँदै दीपनारायण महरादेखि थप २० मिटर निर्माण हुनलागेको ढलान सडक र नाला निर्माणको सांसद् यादवले शिलान्यास गरेका हुन् ।
सांसद् यादवको संसदीय विकास कोषको १० लाख रुपैयाँ रकमबाट निर्माण हुनलागेको १ सय २० मिटर लामो ढलान सडक र नाला निर्माण पश्चात इटियाहीवासीले वर्षौंदेखि झेल्दै आएको खराब सडक र नालाको समस्याबाट छुट्कारा पाउने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद् यादवले समृद्धिका लागि सबैभन्दा महत्वपूर्ण पक्ष सडक भएकोले आफ्नो पहिलो प्राथमिकता गाउँगाउँमा सडक निर्माण भएको बताए । उनले सडक निर्माणसँगै इटियाहीका जनताले अब वर्षायाममा हिलो र सुख्खा समयमा धुलो धुवाको समस्याबाट समाधान पाउँने बताए ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले आगामी दिनमा इटियाहीका जनताका लागि थप विकास निर्माणका योजनाहरु पाईपलाइनमा रहेको जानकारी गराए ।
सडक ढलान तथा नाला निर्माण नामक उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडक र नालाको काम जेठ मसान्त भित्र सक्नुपर्ने समितिका अध्यक्ष मनोजकुमार यादवले बताए ।