काठमाडौँ,२९ पुस । राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।
उक्त अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स, अन्य कर्मचारीहरु र बिरामीसमेत गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको त्यहाँका निर्देशक दिनेश काफ्लेले बताए।
कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा रहेको जानकारी उनले दिए।
‘एक जना बिरामीमा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीहरु र अन्य बिरामीहरुलाई कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको हो, उहाँहरु एक जनाबाहेक सबै होम आइसोसेलनमा हुनुहुन्छ,’ काफ्लेले भने।
संक्रमण देखिएका ६० जनामध्ये एक जना अस्पतालमा भर्ना गरिएको र बाँकी सबैलाई कुनै पनि लक्षण नदेखिएको उनले जानकारी दिए।
अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा नै प्रभावित भएको छ।