काठमाडाैँ,२६ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो ।
पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।
हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७ करोड कारोबार रकम बढी हो । यस्तै, आज ३३ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
बजार १२ अंकले बढेको दिन ४ समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ८२ अंकको गिरावट आउँदा होटेल÷टुरिजममा २५ अंकको तथा विकास बैंक समूहमा २० अंकको गिरावट आएको छ । यस्तै, लगानी समूहमा ०.०७ अंकको गिरावट आएको छ ।
यसबाहेक लघुवित्त समूह ६० अंकले बढ्दा निर्जीवन बीमा समूह ५७ अंक र व्यापार समूह ३५ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहमा २७ अंकको सुधार आउँदा बैंक समूह १४ अंकले बढेको छ । यस्तै, जलविद्युत, अन्य, वित्त र म्यूचुअल फण्ड समूहमा समेत वृद्धि आएको छ ।
सेयर बजारको बढेको दिन जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिकित्ता १६७ रुपैयाँले मूल्य बढेसँगै कम्पनीको सेयर मूल्य १८ सय ३९ रुपैयाँ पुगेको छ ।