बीरगन्ज, ३१ जेठ । बीरगन्ज महानगरपालिकाले डा. दिपेन्द्र कुमार चौधरीको संयोजकत्वमा ९ सदस्यीय श्वेत पत्र २०७९ तर्जुमा गरी पेश गर्ने समिति गठन गरेको छ । पुँजीगत बजेटमा विद्याबारिधी गरेका अर्थविज्ञ डा. चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
बीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको जेठ २३ गते बसेको बैठकले गरेको निर्णय बमोजिम बीरगन्ज महानगरपालिकाको वर्तमान अवस्थाको विस्तृत विवरण समेटिएको श्वेत पत्र तर्जुमा गरी पेश गर्न समिति गठन गरिएको हो । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आईतवार डा. चौधरीलाई संयोजकमा चयन गरेर समिति गठन गरिएको पत्र प्रदान गरेका छन् ।
समितिको सदस्यमा संदिप रौनियार, बासुलाल कर्ण, सत्यराज घिमिरे, अरविन्दलाल कर्ण, हरीशंकर प्रसाद कुर्मी, रुपनारायण राउत, रामकुमार कुशवाहा, ईश्वर बराल रहेका छन् । आवश्यक्ताअनुसार विज्ञहरुलाई आमन्त्रण गरेर सहयोग लिन पनि प्रमुख सिंहले आग्रह गरेका छन् ।
समितिलाई एक साता (७ दिन) भित्र श्वेत पत्र २०७९ तर्जुमा गरी पेश गर्न पनि पत्रमार्फत आग्रह गरिएको छ ।