बीरगन्ग,१८ असार – पकहामैनपुर गाउँपालिकाको निवर्तमान अध्यक्ष बिजय चौरसियालाई अदालतले दोस्रो पटक जरिवना गरेको छ । गाउँपालिकामा निर्माण भइरहेको बाटोको बिषयमा बिवाद भएपछि तत्कालिन गाउँपालिका अध्यक्ष चौरसिया सहित ९ जनालाई बिपक्षी बनाई स्थानिय हरिशंकर प्रसाद चौहानले अदालतमा मुद्दा दायर गरेको थियो । स्थनिय नन्दलाल चौहान सहितको परिवारका अन्य सदस्यहरुलाई पनि कुटपिट गरेको भन्दै चौहानले मुद्दा दायर गरेको थियो ।
मुद्दा माथी अन्तिम फैसला सुनाउदै पर्सा जिल्ला अदालतका बेन्च २ का माननीय न्यायधिश बिष्णु प्रसाद अर्यालले निवर्तमान अध्यक्ष चौरसिया सहित ९ जनालाई जनही १५ हजार जरिवाना तथा कुटपिट गरे बापत जनही ८ हजार क्षतीपुर्ति तिर्न आदेश दिएको छ । यसअघि अदालतले निवर्तमान अध्यक्ष चौरसिया र निवर्तमान वडा अध्यक्ष मदन साह कानु सहित १५ जनालाई जनही ९ सय जरिवाना गरेको थियो ।
उक्त मुद्दामा वादी चौहानको तर्फबाट अधिवक्ताहरु प्रमोद प्रसाह साह, बिरेन्द्र प्रसाद यादव र नजमुदिन राउत गद्दी तथा प्रतिवादीको तर्फबाट अधिवक्ता रामनारायण प्रसाद कुर्मीले बहस पैरवी गरेका थिए ।
गापा क्षेत्रमा चौहानको नम्बरी जग्गामा सहमतिको मुअब्जा नदिई एकतर्फी बाटो निर्माण गर्न खोज्दा बिवाद भएको थियो । बिवादको क्रममा निवर्तमान अध्यक्ष चौरसिया सहितको टोलीले स्थानिय चौहानको परिवार सहितलाई कुटपिट गरेको थियो । आरोपीहरुलाई कारवाही भएपछि स्थानियहरु हर्षित भएका छन् ।
निवर्तमान अध्यक्ष चौरसियालाई जनताले नरुचाएका कारण पछिल्लो स्थानिय तहको निर्वाचनमा उनी पराजित भएको शंकर चौहानले बताए । यसैबिच यसरी अभियोग लागी अदालतबाट दुईपटक जरिवाना तिर्न आदेश पाएका चौरसिया पर्साको १४ स्थानिय तह मध्येको पहिलो अध्यक्ष भएका छन् । गएको बैशाखमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा निवर्तमान चौरसिया नेपाली कांग्रेसका बिनोद प्रसादसँग पराजित भएका थिए ।