चितवन,२१ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।
सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससँग निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।
“सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” उनले भने । तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उनको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले भने “एमालेसँग प्रतिष्पर्धा गर्नका लागि एक हुनु पर्यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही सँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई थियो ।
संविधान र ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए । यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए । उनले भने “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गाउने सम्मको रोडम्याप अहिले देखिनै बनाउनु पर्छ ।”देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै पौडेलले भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए । “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला ।” उनले भने ।