बीरगन्ज,१५ मंसिर – अल्पायुमै दिवगंत भएका युवा पत्रकार नरेश सर्राफको बिहीबार अपरान्ह दाहसंस्कार गरिएको छ । सर्राफको बीरगन्ज वडा नं. १० अशोकवाटिकास्थित मसानघाटमा अत्येष्टि गरिएको हो ।
उनलाई अन्तिम बिदाई गर्न पूर्वमन्त्री तथा सांसद प्रदीय यादव, मधेश प्रदेश पूर्व भौतिक योजना तथा पूर्वाधार मन्त्री तथा प्रदेश सांसद जितेन्द्र सोनल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनु्प तिवारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायत पर्सेली पत्रकारहरु, राजनैतिक दलका नेता कार्यकर्ताहरु मसानघाट पुगेका थिए । अन्तिम बिदाई गर्दै नेपाल पत्रकार महासंघ र समाजवादी प्रेस संगठनले सर्राफको शवमाथि झण्डा ओढाएर अन्तिम श्रद्धान्जलि दिएका थिए ।
यसअघि, बिहीबार बिहान सर्राफको ३८ वर्षको अल्पायुमै निधन भएको थियो । सर्राफ नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य, समाजवादी प्रेस संगठन नेपाल पर्साका कार्यसमिति सदस्य, सगरमाथा टेलिभिजनका सम्वाददाता तथा राष्ट्र सन्देश अनलाइनका संचालक रहेका थिए । उनलाई बिहीबार बिहान व्यायाम गर्दा गर्दै अचेत भएर लडेपछि उपचारका लागि नारायाणी अस्पतालमा पु¥याएको केहीबेरमा निधन भएको थियो । अस्पताल पु¥याएको केहीबेरमै चिकित्सकले उनको निधन भएको पुष्टि गरेका थिए ।
विभिन्न मिडियामा आबद्ध रहदैं सर्राफ विगत दुई दशकदेखि पर्साको पत्रकारितामा सक्रिय थिए । स्थानीय पत्रिका सन्डे टाईम्स, राष्ट्रिय सहारा, रेडियो बीरगन्ज, नेपाल वान टेलिभिजन हुदैं हाल आएर सगरमाथा टेलिभिजन तथा राष्ट्र सन्देश अनलाईन मार्फत पत्रकारितामा उनको क्रियाशिलता जारी थियो ।
हक्की र निडर स्वभावका सर्राफको निधनले पर्सेली पत्रकारिता अतुलनीय क्षति पुगेको पत्रकार सम्बद्ध तथा अन्य विभिन्न संघ संगठनले शोक वक्तव्य जारी जनाएका छन् ।
पूर्वमन्त्री तथा सासद प्रदीप यादव, मुख्यमन्त्री लालबालु राउत, नेपाल पत्रकार महासंघ पर्सा र मधेश प्रदेश, नेपाल प्रेस युनियन पर्सा,नेपाल फोटो पत्रकार महासंघ,पर्सा र समाजवादी प्रेस संगठन पर्सा लगायत विभिन्न संघ संगठन तथा व्यक्तिहरुले सर्राफको अल्पायुमै निधन भएकोमा गहिरो समवेदना प्रकट गरेका छन् । सर्राफको एक श्रीमती र एक छोरी नाबालिक छोरी रहेका छन् । तीन दाजु भाई रहेका सर्राफ घरको माइला छोरा रहेका थिए ।