बीरगन्ज, ५ माघ- बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बीरगन्जलाई शिक्षाको हब बनाउन सबै मिलेर लाग्नुपर्ने बताएका छन् । बीरगन्जलाई शिक्षाको हब बनाउने जिम्मा मेयर र महानगरपालिकाको मात्र नभएर सरोकारवाला सबैको भएको मेयर सिंहको भनाई छ । मेयर र महानगरपालिकाको मात्र जिम्मा लगाएर अन्य पक्ष आफ्नो जिम्मेवारीबाट पछि हट्न नमिल्ने मेयर सिंहको तर्क छ ।
बीरगन्जस्थित आदर्शनगर रंगशालामा प्याब्सन पर्साको आयोजनामा बिहीबारबाट शुरु भएको सातौं प्याब्सन टि-ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर सिंहले भने, “शिक्षा हब बनाउने काम मेयर एक्लैको होइन, खाली कुरा मात्र गर्ने अनि आफ्नो जिम्मेवारी चाहिं पूरा नगर्ने, अनि कसरी बन्न सक्छ बीरगन्ज शिक्षाको हब ?”
उनले सबैले आ आफ्नो कमीकमजोरी सुधार गर्दै सामुदायिक विद्यालय, निजी विद्यालय, अभिभावक संघ लगायत सरोकारवाला सबैले काँधमा काँध मिलाएर अघि बढे मात्र बीरगन्जलाई शिक्षाको हब बनाउन सकिने बताए । जब पर्छ तब मात्र गर्नै परम्पराको अन्त्य हुनुपर्ने मेयर सिंहको भनाई छ । मेयर कपको सन्दर्भमा बौल्दै मेयर सिंहले मेयर कप नभई बीरगन्जको पहिलो मेयर केशरमान मानन्धरको स्मृतिमा केएमएम कप आयोजना गर्ने योजनामा आफुु रहेको उनले खुलाए । केएमएम कपका लागि महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल कार्यक्रममै संयोजकका रुपमा घोषणा गरे । साथै, उनले क्रिकेट प्रतियोगितमा सहभागी खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल खेल्न शुभकामना दिए ।
उद्घाटन समारोहमा प्रतियोगिताको सफलताको शुभकामना दिदैं पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, अभिभावक संघ पर्साक अध्यक्ष अमर बहादुर गौतम, शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव, बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, एन प्याब्सनका मधेश अध्यक्ष डा. नन्दन यादव, प्याब्सनका मधेश अध्यक्ष दिपक रेग्मी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममै, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ वडा अध्यक्ष तथा बारा प्याब्सनका पूर्व अध्यक्ष हरिदेव खरेललाई प्याब्सन सम्मान गरेको छ । उनलाई मेयर सिंहले सम्मान पत्र प्रदान गरे । यस्तै, उद्घाटन समारोहमा उत्कृष्ट मार्चपास प्रदर्शन गर्ने मस्कोट एकेडेमी, सेन्ट जेभियर्स मावि र एमईएस मावि क्रमश प्रथम, द्धितीय र तृतीयलाई शिल्डसहित सम्मान समेत गरिएको थियो । यसअघि, मेयर सिंहले सो क्रिकेट प्रतियोगिताको उद्घाटन बेलुन उडाएर गरेका थिए ।
प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा मधेश विश्वविद्यालयका रजिष्टार विजय यादव, बीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, प्याब्सन केन्द्रिय सदस्य छेदुुप लामा, ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा उमेश चौरसिया बारा प्याब्सनका अध्यक्ष नेत्र प्रसाद दाहाल, पर्सा एन प्याब्सनका अध्यक्ष राम श्रेष्ठ, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन प्याब्सन पर्सा प्रवक्ता अशोक संग्रौलाले गरेका थिए ।
औपचारिक उद्घाटनपछि मेयर सिंह, उममेयर आलम र कार्यक्रमका सभापति प्रधानले बलिगं र व्याटिंग गर्दै खेलको उद्घाटन गरे । बिहीबार उद्घाटन खेलमा मनकामना मावि र चिल्डेन वल्र्ड बीच प्रतिस्पर्धा भईरहेको छ ।