बीरगन्ज,११ माघ । नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई पक्राउ गरेको छ। बीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयास्थित समसुन ट्रेडर्सका सञ्चालकद्वय छपकैयाकै ३५ वर्षीय शेख आविद अली र बीरगन्ज १७ अलौका २३ वर्षीय शेष कौशललाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित समसुन ट्रेडर्सको गोदाममा छापा मारेर ठूलो परिमाणमा नक्कली मोबिल पनि बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।
उनका अनुसार गोदाममा भण्डारण गरि राखिएको अवस्थामा नक्कली मोबिल १ हजार ५० लिटर, ब्रेक आयल ४५ डिब्बा, ब्याट्रीको पानी २ ग्यालन र डिस्टिल वाटर १० लिटर बरामद गरिएको छ।
पक्राउ परेका सञ्चालकद्वय अली र कौशललाई मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरि उनीहरूविरुद्ध कालो बजारी अन्तर्गतको कसूरमा ७ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।