बीरगन्ज, १४ माघ-साउथ जोन माध्यमिक विद्यालयले सातौं प्याब्सन क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । शनिबार बीरगन्जस्थित आदर्शनगर रंगशालामा भएको खेलमा डिफेन्डिंग च्याम्पियन मनकामना माविलाई १८ रनले पराजित गर्दै यसअघिको संस्करणको उपविजेता साउथ जोनले उपाधि उचालेको हो ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको साउथ जोनले उचिन उपाध्यायको ४ छक्का र ७ चौकासहितको ६७ रनको मदतले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४२ रनको योगफल मनकामना सामु खडा गरेको थियो । मनकामना सामु १४३ रनको लक्ष्य खडा गर्न साउथ जोनका कप्तान चन्दन रामले समेत ३० रनको योगदान दिए । १४३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको मनकामना मावि १८.३ ओभरमै अलआउट भएको थियो । मनकामनाले साउथ जोनलाई कडा टक्कर दिए पनि १२४ रनमै समेटिएको थियो ।
निक्कै नै रोमान्चक भएको फाईनल खेलमा साउथ जोनलाई कडा टक्कर दिने क्रममा मनकामनाका प्रेम सागरले ३४ र राहुल ठाकुरले २६ रनको योगदान आफ्नो टिमलाई दिए । फाईनल खेलको म्यान अफ द म्याच साउथ जोनका कप्तान चन्दन राम घोषित भए ।
प्रतियोगिता पश्चात आयोजित समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथ प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपाल कार्की र कार्यक्रमका सभापति प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित सम्मान गरे । साथै, सोही अवसरमा ३ दशक भन्दा बढी समयदेखि क्रिकेट खेलमा आबद्ध भई पर्सा जिल्लाको क्रिकेट कोचदेखि राष्टिय क्रिकेट टिमको कोचसमेत भएर क्रिकेट खेलको विकास र समृद्धिमा योगदान दिएका पूर्व खेलाडी तथा कोच उमेश उपाध्यायलाई प्रमुख अतिथि र सभापतिले सम्मान गरे ।
यस्तै, प्रतियोगिता अवधिभर खेलमा उच्च प्रदर्शन गरेको मिनील्याण्ड माविका सोनु पटेल बेस्ट ब्याट्सम्यान, मिनील्याण्डकै नितेश पासवान बेष्ट बलर र साउथ जोनका चन्दन राम म्यान अफ द सिसिज घोषित भए । सबै उत्कृष्ट खेलाडीहरुलाई अतिथिहरुले शिल्ड र प्रमाणपत्रसहित सम्मान गरे ।
गत माघ ५ गतेदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।