काठमाडौं,२७ माघ – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रिस्तरीय निर्णय गर्दै ठाकुरलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।
मन्त्रालयले उक्त घटनाबारे छानविन गर्न ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र समेत पठाइसकेको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पठाइने मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए । ठाकुर ९ फागुन २०७८मा विमानस्थलको प्रमुखमा नियुक्त भएका थिए ।