काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरू दिनरात नभनी छलफलमा जुटिरहेका छन् ।
सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई लिएर राजनीतिक समीकरणमा फेरबदलको संकेत समेत देखिन थालेको छ । यस्तो अवस्थामा कसरी चुनिन्छन् राष्ट्रपति ? कुन–कुन दल मिलेमा चुन्न सक्छन् राष्ट्रपति ?
यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । तर, अहिलेसम्म राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । एमालेले आफ्नै राष्ट्रपतिमा जोड दिइरहेको छ । तर, सत्ता घटक माओवादी केन्द्रले भने राष्ट्रपति राष्ट्रिय समहमति अडान छाडेको छैन ।
सरकार गठनका बेला निर्णायक भएको माओवादी राष्ट्रपति निर्वाचनमा पनि निर्णायक नै छ । त्यसैले कांग्रेस र एमाले दुबै दल माओवादीलाई साथ लिएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न भरपुर प्रयत्नमा छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३ सय ३२ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन् । प्रतिनिधिसभाका दुई सदस्यले भने मतदान गर्न पाउने छैनन् ।
चितवन–२ मा उपनिर्वाचन हुन बाँकी छ भने मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ ।
२०६८ सालको जनगणनाकै आधारमा गर्ने मतभार हुने भएकाले यसपटक पनि संघीय संसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले बहुमत ल्याउनुपर्ने हुन्छ ।
यसपटकको निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ । राष्ट्रपति निर्वाचित हुन उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय १५ मत ल्याउनुपर्नेछ ।
कुन दलको कति मतभार ?
नेपाली कांग्रेस : १६ हजार १ सय ४२
नेकपा एमाले : १५ हजार २ सय ३३
नेकपा माओवादी केन्द्र : ७ हजार ६ सय ४९
नेकपा एकीकृत समाजवादी : २ हजार ५ सय ७४,
राष्ट्रिय प्रजातन्त्र पार्टी : २ हजार ४ सय ५०
जनता समाजवादी पार्टी : २ हजार १ सय ४५
राष्ट्रिय स्वतन्त्र पार्टी : १ हजार ५ सय १
जनमत पार्टी : १ हजार २ सय ४२
लोकतान्त्रिक समाजवादी पार्टी : ९ सय ७१
नागरिक उन्मुक्ति पार्टी : ८ सय १३
राष्ट्रपति निर्वाचनमा सम्भावित समीकरण
सत्ता गठबन्धनको मतभार हेर्दा राष्ट्रपतिमा निर्वाचनमा मतभार पुग्ने देखिन्छ । एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिँदा मतभार २२ हजार ८ सय ८२ हुन आउँछ । राप्रपा र रास्वपाले साथ दिँदा यो गठबन्धनबाट राष्ट्रपति बन्ने अवस्था छ ।
कांग्रेस र माओवादी एक ठाउँमा हुँदा २३ हजार सात सय ९१ मतभार पुग्छ । यी दुई दललाई एकीकृत समाजवादी पार्टीले मात्र साथ दिए सजिलै राष्ट्रपति पदमा जित हात पार्ने देखिन्छ । माओवादीले एमालेलाई साथ नदिए एमालेले छुट्टै गठबन्धन बनाएर राष्ट्रपति निर्वाचन जित्न असम्भव जस्तै छ ।
एमालेलाई एकीकृत समाजवादी पार्टी, जसपा, राप्रपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपाको साथ चाहिन्छ । अर्कोतर्फ कांग्रेसलाई पनि माओवादी केन्द्रबाहेकको गठबन्धन बनाउन कठिन छ ।
यसरी हेर्दा राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र नै निर्णायक शक्ति देखिन्छ । माओवादी केन्द्रले जसलाई साथ दिन्छ, त्यतातिर बहुमत पु¥याउन सहज अवस्था बन्ने देखिन्छ ।