निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअनुसार आज सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । यसअघि शनिबार सो पदमा उमेदवारी दर्ता भएको थियो । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहेका छन् ।
एउटा मतदान केन्द्रमा संघीय सांसदले मतदान गर्ने छन् भने अर्को मतदान केन्द्रमा प्रदेशसभाका सदस्यले मतदान गर्ने उनले बताए । फागुन २५ गते मतदान सकिएलगत्तै अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको अर्यालले बताए । संघीय संसदहरु ३३२ र प्रदेश सभाका सांसद ५५० गरी ८८२ जना मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।