जनकपुर,१५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशका समस्या समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यस्तो बताए । अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएकाले साझा प्रयासले समस्या समाधान हुने बताए ।
नेकपा (एमाले) लगायतका सबै राजनीतिक दलहरु मिलेर नै देशको समस्या समाधान हुने उनले चर्चा गरे । संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुन्छ, नेता नपालले भने– ‘नेपालमाजस्तो किसिमको चुनौतीहरु अहिले देखिएका छन्, ती चुनौतीहरुको सामना गर्न देशका सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्छ । सबै मिल्नुपर्छ ।’
अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरु अनुमान र मिथ्या भएको बताए । सहमतिका बारेमा कुरा खोल्ने समय अझै नआएको बताए । वामपन्थी शक्तिहरुसँग मिलेर जाने पहल आफूहरुले गरिरहेको पनि उनले चर्चा गरे ।
एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न आफ्नो दल तयार रहेको नेता नेपालले बताए । उनले भने, ‘वामपन्थी शक्तिहरुलाई हामी मिलेर जानका लागि आव्हान गरिरहेका छौँ । यसका निम्ति समाजवादी शक्तिहरु, वामपन्थी शक्तिहरु राष्ट्रिय इस्यूहरुमा, जनताका इस्यूहरुमा, लोकतन्त्रका इस्यूहरुमा, गणतन्त्रका इस्यूहरुमा, संविधानको इस्यूहरुमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडि बढ्ने छौँ ।’