जनकपुरधाम,१५ फागुन । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन धनुषाका स्थानीय तहले चासो देखाएका छन् ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मीलाई समन्वय गरी परिचालन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गरेको नगर प्रमुख मनोज साहले जानकारी दिनुभएको छ । उनका अनुसार अझै पनि जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले जनकपुरधाममा लक्ष्य प्राप्त गर्न सकेको छैन ।
यो अवस्थालाई सुधार गर्न अहिले उपमहानगरपालिका सक्रियता देखाएको उनको भनाइ छ । प्रत्येक वर्ष औषधि सेवन अभियान सञ्चालन भएपनि प्रभावकारी नभएका कारण अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सबैलाई व्यापक रूपमा परिचालन गरेको नगर प्रमुख साहले बताएका छन ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकामा व्यापक प्रचारप्रसारसहित जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरिएको प्रमुख प्रसाशकिय अधिकृत रतिनेश शशिले बताए । पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब ६ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार ६ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।