काठमाडौं,१९ फागुन । जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिलेका राष्ट्रपतिले गरेका गल्ति नदोहोरियोस् भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा विगतका गल्ति नदोहोरियोस् भनेर सैदान्तिक सहमति बनेको बताएका हुन् ।
‘अहिलेको आठ दलीय गठबन्धन जुन नयाँ रुपमा देखापर्यो, त्यो एउटा सैद्धान्तिक पाटोलाई अङ्गालेर यो भन्दा अगाडिको राष्ट्रपतिज्यूले के–कस्ता गल्तिहरु गर्नुभयो । त्यो गल्तिहरु यसपाली नदोहोरियोस् भनेर एउटा सामान्य सहमति भएको हो । यस आधारमा अहिलेको राष्ट्रपतिको उम्मेदवार अगाडि सारिएको हो,’– उनले भने ।
विगतका राष्ट्रपतिले दलीय स्वार्थको आधारमा निर्णय गरेको उनको आरोप छ । नागरिकता विधेयक, दल विभान गर्ने अध्यादेश लगाएतका विषयमा विगतका राष्ट्रपतिले दलीय स्वार्थका आधारमा निर्णय लिएको उनको आरोप छ । ‘विगतमा हामीले नागरिकता विधेयक, दललाई विभाजन गर्ने अध्यादेशको विषयमा होस्, त्यो कुराहरु हामीले भोगेका छौं । कतिपटक राष्ट्रपतिज्यूहरुले एउटा दलीय प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्दाखेरी देश नै संकटमा परेको अवस्था देखियो । त्यो फेरि नदोहोरियोस्,’– उनले भने ।
साथै, जनमत पाटीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने उनले बताए । ‘अहिलेको गठबन्धनअनुसार आठ दलभित्र एउटा सामान्य समझदारी भएको छ । आठ दलभित्र रामचन्द्र पौडेललाई मतदान गर्ने र जिताउने भनेर मोटामोटी सहमति भईसक्यो । अहिलेसम्म हाम्रो पार्टीमा असहमतिको स्वर छैन,’– उनले भने ।