रौतहट — पेटमा रक्सीको बोतल देखिएपछि शल्यक्रिया गरिएका रौतहट गुजरा नगरपालिका–९ अमतबाका २६ वर्षीय नुर्साद मन्सुरीको स्वास्थ्यमा सुधार नहुँदा बयान प्रभावित भएको छ ।
उनको पेट शल्यक्रिया गरी बोतल त निकालिएको छ, तर घरीघरी बेहोस हुँदा प्रहरीले बयान लिन नसकेको हो ।
प्रहरीका अनुसार केही दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित अटो ग्यारेजमा साथी नसिम खानसँगै नुर्सादले मादक पदार्थ सेवन गरेका थिए ।
नुर्सादले बोतलमा पिसाब राखेर रक्सी भन्दै खुवाएको पछि थाहा पाएका नसिमले उनलाई आफ्नो ग्यारेजमा बोलाई नशालु पदार्थ खुवाएर बेहोस बनाए । त्यसपछि रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिए । होसमा आउँदा पेट दुख्न थालेपछि मात्रै नुर्सादले औषधि खाएका थिए तर बिसोक नभएपछि अस्पताल लगिएको थियो । चन्द्रपुर अस्पतालमा एक्सरे गर्दा पेटमा बोतल देखिएपछि बीरगन्ज रेफर गरियो र बीरगन्ज बाट उनलाई नारायणघाट रेफर गरिएको थियो र पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासेको टिमले ५ दिनअघि शल्यक्रिया गरी बोतल निकालेका हुन् ।
नुर्साद अहिले पोस्ट आईसीयूमा उपचाररत छन् । तर, स्वास्थ्य अवस्था नाजुक हुँदा घटनाबारे बोल्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नुर्सादको बयान लिन खोजे पनि सम्भव नभएको बताएको छ । धेरै बोल्न लगाउँदा जोखिम हुने चिकित्सकले बताएपछि सामान्य सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
आरोपित नसिमलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको इप्रका चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाले बताए ।