बीरगन्ज,०१ चैत । बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हालका लागि स्थगीत गरिएकाे छ । चैत ८ मा हुने भनिएको निर्वाचन हालका लागि स्थगीत गरि अब जेठ १३ गते गर्ने सहमति राजनीतिक दल र क्याम्पस प्रशासनबीच भएको हो ।
निर्वाचन समितिले दुई/दुईइ पटक प्रकाशन गरेको मतदाता नामावलीको विषयलाई लिएर विधार्थी संघसंगठनले विवाद गर्दै क्याम्पसमा आगजनी र तालाबन्दी समेत गरेपछि स्ववियु निर्वाचन साढे २ महिनापछि धकेलिएको हो ।
देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सार्वजनिक गरेको थियो । तर विधार्थी संगठनको विवादका कारण ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन अब आगामी जेठ १३ गते गर्ने सहमति क्याम्पस प्रशासन र राजनीतिक दलहरुले गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बिहान दोस्रो पटक बसेको सर्वपक्षीय बैठकमा विधार्थी संगठनको विवादका कारण चैत ८ गते स्ववियु निर्वाचन गर्न सक्ने अवस्था नदेखिएको र चैत १२ देखि विभिन्न संकायको परीक्षा सुरू हुने भएका कारण अब जेठ १३ गते निर्वाचन गर्ने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव तबरेज आलमले बताए ।
बैठकमा सहभागी नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंहले पनि चैत ८ मा निर्वाचन हुनसक्ने परिस्थिति नभएका कारण जेठ १३ मा गर्ने सहमति गरिएको बताए । उक्त सहमति अनुसार ,अब निर्वाचन समितिले जेठ १३ मा निर्वाचन गर्ने गरि सूचना जारी गर्ने क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले बताए ।
बुधबारको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,प्रहरी उपरिक्षक कोमल शाह ,क्याम्पस प्रमुख चौरसिया , निर्वाचन अधिकृत रोशन लामिछाने , नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह ,जसपाका जिल्ला सचिव तबरेज अहमद ,नेकपा एमालेका नेता शीवजी गुप्ता ,नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्तालगायतको सहभागिता थियो । बैठकमा विधार्थी संघसंगठनका नेतालाई पनि सहभागी गराइएको थिएन ।