रौतहट,०५ चैत । रौतटहटमा हत्या आरोपीलाई अदालतले धरौटीमा रिहा गरेको विरोधमा प्रदर्शन भएको छ । शनिबार एक महिलाको हत्या आरोपमा परेका आरोपीलाई छाडिएको विरोधमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मौलापुर घेराउ गरेका हुन् । मौलापुर नगरपालिका ९ की सुगन्धी देवी यादवको माघ २५ गते कुटपिटपछि मृत्यु भएको थियो ।
सुगन्धीदेवीमाथि खेतामा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी सुगन्धीदेवीलाई उपचार गर्न वीरगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतीले बताए ।
उनको मृत्युलगत्तै प्रहरीले उनतराय यादव, मधानी देवी, कलावती देवी लगायतलाई पक्राउ गरेको थियो । तर मुख्य आरोपी भोलालाई भने प्रहरीले भारतको अठमोहनाबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि भोलासहित ३ जनालाई रिहा गरिएको छ ।
पीडित परिवारले हत्या आरोपी पनिलाल लगायतका अभियुक्तहरुलाई धरौटीमा छोडिएको भन्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले पीडित परिवारसँग मृत्यु प्रकरणका विषयमा थप खोजविन गर्ने सहमति गरेपछि प्रदर्शन रोकिएको थियो ।