बीरगन्ज,१० चैत । विश्व क्षयरोग दिवस शुक्रबार बीरगन्जमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ बीरगन्ज महानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले शुक्रबार विभिन्न कार्यक्रम गरि दिवस मनाएकाे हाे ।
दिवसकाे अवसरमा बिहान घण्टाघर चाेकबाट सचेतनामुलक रयाली निकालिएकाे थियाे । उक्त रयाली आदर्शनगर हुदै नगर परिक्रमा पछि पुन घण्टाघर फर्किएर कोणसभामा परिणत भएको थियो ।रयालीमा सहभागी भएका स्वास्थ्यकर्मीले सचेतनामुलक प्लेकार्ड बोक्नुका साथै क्षयराेग सम्बन्धि सचेतनामुलक सन्देश लेखिएका पम्पलेट वितरण समेत गरेका थिए ।
महानगरकाे स्वास्थ्य शाखामा कार्यरत तथा क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरको संयोजकत्व र बीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवालकाे प्रमुख आतिथ्यतामा भएकाे रयालीमा स्वास्थ्य कार्यालय पर्साका विनोद झा, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, बिजामका अनोज खडका लगायतको पनि सहभागीता थियो ।
महानगरमा रहेका ३४ वटै स्वास्थ्य संस्थामा पनि सचेतनामुलक कार्यक्रम गरि विश्व क्षयरोग दिवस मनाइएकाे क्षयरोग रोकथामका फोकल पर्सन सुमनचन्द्र ठाकुरले बताए ।
नेपालमा क्षयरोगबाट प्रत्येक दिन करिब ४७ जनाको मृत्यु हुने गरेको छ । यस्तै दैनिक १ सय ९० जना हाराहारीमा क्षयरोगीका नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार मुलुकमा हाल १ लाख १७ हजार क्षयरोगका विरामी छन् भने वर्षेनी ६९ हजार नयाँ विरामी थपिने गरेका छन् ।
नेपालमा क्षयरोका कारण वर्षेनी १७ हजार जनाले ज्याउन गुमाउनु परेको केन्द्रको तथ्याङक छ ।