बीरगन्ज,१० चैत – बिगत लामो समयदेखि बिवादमा तानिदै आएको शिवम् लेयर्स फार्म प्रा.लि. उद्योगलाई बन्द गर्न गाउँपालिकाको कार्यालयले सम्बन्धित पक्षलाई परिपत्र गरेको छ । स्थानियहरुको दबाव र बिभिन्न समाचार माध्यहरुमा समाचार प्रकाशित–प्रशारित भएपछि पटेर्वासुगौली गाउँपालिकाको कार्यालयले उद्योग बन्द गर्ने निर्णय गरेको हो ।
वडा नं. २ गादीस्थित कुखुराको अण्डा उत्पादन गर्ने उक्त उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका १० हजार भन्दा बढी नागरिकहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशन भएपछि १५ दिन भित्र उद्योग बन्द गर्न गाउँपालिकाको कार्यालयले निर्देशन दिएको हो ।
पटेर्वा सुगौली गाउँपालिकाको कार्यालयमा मिति २०७९ चैत ८ गते कार्यपालिकामा बसेको बैठकले सो निर्णय गरेको पटेर्वासुगौली गाउँपालिकाले जानकारी दिएको छ । चैत ८ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नं. १ अनुसार विभिन्न मितिमा त्यस क्षेत्रका १ सय भन्दा बढि नागरिकले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको लागि दिएको उजुरी उपर छलफल गरि उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु पालना गर्न जानकारी गराउँदा पनि उद्योगले अटेरी गर्दै आएको कारण पालिकाले यस्तो निर्णय लिएको हो ।
गाउँपालिकाको कार्यालयको अध्यक्ष दिनेश चौधरी सहितको टोलीले गरेको अनुगमन क्रममा तयार गरिएको प्रतिवेदनको मुलमर्म अनुसार नेपालको संविधान, २०७२ को धारा ३०, स्वच्छ वातावरणको हक मौलिक हक बाट गाउँपालिकाको हजारौँ नागरिकहरुलाई बञ्चित गराइएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अनुसार र वातावरण संरक्षण ऐन २०७६ विपरित कार्य गरि छरछिमेकको नागरिकहरुको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेको र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ अनुसारको फोहरमैला व्यवस्थापन सम्बन्धी गाउँपालिकाको कार्यालयसँग अनुमति समेत नलिइएकोले उल्लेख गरिएको छ ।
अनुगमन समितिको प्रतिवेदनमाथि भएको छलफल पश्चात नेपालको संविधान २०७२ को अनुसूचि ८ को बुंदा नं. १० को अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून अनुसार गाउँपालिकाले लिखित तथा मौखिक निर्देशन दिँदा त्यसलाई वेवास्ता गर्दै नागरिकको स्वास्थ्यसँ गम्भिर खेलवाड गरेकोले उक्त उद्योगलाई १५ दिन भित्र बन्द गर्न लेखि पठाउने र सोको जानकारी सम्बन्धित निकायहरुलाई गराउने निर्णय गरिएको पालिकाकी उप प्रमुख ममता चौधरीले जानकारी दिइन् ।
सो निर्णयको बोद्धार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगंज (पर्सा) लाई पठाएको गाउँपालिकाले जनाएको छ ।
उद्योग बीरगन्जको चर्चित उद्योगपति शिवजी कलवारले संचालन गर्दै आएका छन् । तर उद्योगले वातावरिणय परिक्षणमा उल्लेख गरिए अनुसारको मापदण्ड पालना नगरेको र बिगत लामो समयदेखि परिक्षणको अनुमती समेत नलिएको एवं फोहर व्यवस्थान तथा झिंका आतंक नियन्त्रणको लागि काम नगरेको आरोप खेप्दै आएका थिए । सो क्षेत्रका बस्तीमा वासोवास गर्ने १० हजार भन्दा बढि सर्वसाधारण उद्योगको दुर्गन्ध एवं पझिंका आतंकले प्रभावित हुदै आएको छ ।
यता उद्योगको संचालक शिवजी कलवारले उद्योग मापदण्ड अनुसार नै संचालन भएको तथा अहिले देखिएको झिंका मौसमको कारण देखिएको प्रतिक्रिया दिएका छन् । तर गाउँपलिकाका उप प्रमुख ममता चौधरीले कलवारलाई पटक छलफलका लागि बोलाउँदा अटेरी गर्ने गरेको तथा छलफलका उपस्थित समेत नभएको बताइन् । उद्योगको कारण पालिकावासीको स्वास्थ्यसँग खेलवाड गर्न नसकिने बताउँदै उप प्रमुख चौधरीले गाउँपालिकाको कार्यालय उद्योग बन्द गर्ने निर्णयमा पुगेको बताइन् ।